प्रदेश १ मा संक्रमित अझै अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य
  • CIA Khabar

  • इलाम । कोराना संक्रमणको दर उच्च भएसँगै प्रदेश १ मा एक साताको अवधिमा तीनवटा सरकारी कोभिड विशेष अस्पताल थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशमा चार निजीस्तरका र ६ वटा सरकारी गरी १० वटा कोभिड अस्पताल छन् । योसँगै प्रदेशमा कोभिड–१९ संक्रमितलाई राखेर उपचार गर्ने बेड संख्या एक हजार १५५ पुगेको छ ।

    प्रदेशमा कोभिड विशेष अस्पतालको सेवा विस्तार भए पनि संक्रमितलाई थेग्न सकेको छैन । बेड नपाएर संक्रमितहरु अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य छन् ।

    मन्त्रालयका अनुसार एक साताभित्र विराटनगरसहित धनकुटा र संखुवासभामा कोभिड अस्पताल थपिएका छन् । धनकुटामा २६ बेडसहितको कोरोना अस्पताल र संखुवासभामा ४५ बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको छ । यी दुवै अस्पतालले संक्रमितलाई भर्ना लिएर उपचार गर्न थालेका छन् भने विराटनगको कोशी अस्पतालभित्र सञ्चालनमा ल्याइएको कोभिड युनिटले बुधबारदेखि सेवा सुरु गर्दैछ, जसमा भेन्टिलेटरसहित ६१ शय्या छ ।

    यी सबै सरकारीस्तरमा सञ्चालित कोभिड अस्पताल हुन् । ती अस्पतालले सघन उपचार कक्ष आईसियु, भेन्टिलेटर, एचडीयुसहित जनरल बेडको सेवा विस्तार गरेका हुन् ।

    कोशी अस्पतालका सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले ५ बेडको भेन्टिलेटरसहितको आइसियु, २४ बेडको एचडीयु, ३२ अक्सिजनसहितको बेड सञ्चालन हुने बताए ।

    मन्त्रालयका सचिव गोविन्द कार्कीका अनुसार संक्रमितहरुको उपचारको यथोचित व्यवस्थापनका लागि प्रदेशमा थप तीनवटा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । ‘अस्पतालहरु संक्रमितले भरीभराउ भएका छन्,’ सचिव कार्कीले भने, ‘संक्रमण दर उच्च हुदै जाँदा धेरैले उपचार नपाउने अवस्था सिर्जना भएको छ । यस्तो बेलामा नागरिकको स्वास्थ्य उपचारको हक सम्बोधन गर्न प्रदेश सरकार प्रयासरत छ ।’

    तर उनी अहिले पनि अस्पतालले संक्रमितको भार थेग्न नसकेको स्वीकार गर्छन् । प्रत्येक दिन हजारको संख्यामा संक्रमित बढ्ने क्रम रहेकाले संक्रमितको उपचार र व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ छ ।

    प्रदेशका सरकारी तथा निजीस्तरमा सञ्चालित कोभिड विशेष अस्पतालहरुमा यसअघि एक हजार ९४ बेड क्षमता थियो । प्रदेश सरकारको तथ्याङ्क अनुसार अहिले प्रदेशमा कुल एक हजार १९६ जना संक्रमितको विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार १२:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images