काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास पुग्नु भएको छ । गृहमन्त्री बादल केही समयअघि कोटेश्वरस्थित नेपालको निवासमा पुग्नुभएको हो । आगामी जेठ ६ गते बिहीबार हुन लागेको राष्ट्रियसभाको उपनिर्वाचनमा सहयोगका लागि आग्रह गर्न गृहमन्त्री बादल नेपालनिवास पुग्नुभएको हो ।
नेताद्यबीच निर्वाचनसहित एमाले बिवाद समाधानको बिषयमा छलफल भएको छ । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेले गृहमन्त्री बादललाई उम्मेद्वार बनाएको छ । नेकपा बिभाजन र सर्वोच्च अदालतबाट पूर्ववत पार्टी कायम रहने फैसलापछि माअोवादी त्यागेर एमालेमै रहनुभएका बादललाई माओवादी केन्द्रले कार्वाही गरेपछि राष्ट्रियसभा सदस्य पदरिक्त भएको थियो । बादल पदमुत्तः हुनुभएपछि जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन हुन लागेको हो ।
प्रदेश ३ को राजधानी हेटौंडामा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एमालेका नेता नेपालको गठबन्धनमा कलम चिन्हमा डा। खिमलाल देवकोटा उम्मेदवार बन्नुभएको छ । देवकोटालाई मतदान गर्न माओवादीले ह्वीप जारी गरिसकेको छ भने कांग्रेसले अहिलेसम्म ह्वीप जारी गरेको छैन । देवकोटा उम्मेद्वार बन्दा एमाले बरिष्ठ नेता नेपाल समुहको समेत सहयोग रहेको बताइए पनि अहिले देवकोटाको पक्षमा मतदान गर्ने पूर्वनिर्णयबाट पार्टीभित्र सहमतिका लागि कार्यदल गठन भएसँगै पछाडि हटेको छ ।
नेपाल समुहले इमान्दारिताका साथ मतदान गर्दा बागमति प्रदेशबाट एमाले उम्मेद्वार बादल नै बिजयी हुने निश्चित छ । बागमतिमा एमालेको एकल बहुमत रहेको छ । एमालेभित्र विवाद समाधानको पहलभएसँगै नेपाल समुह कांग्रेस र माओवादीको गठबन्धनबाट बाहिरिसकेको छ । नेपाल समूहको मत आफ्नो पक्षामा पार्न सुनिश्चितताका लागि बादल नेपालनिवास पुग्नुभएको हो । पार्टीभित्र कार्यदल गठन र देवकोटा आफूहरुको उम्मेद्वार भएको भन्दै माओवादीले ह्वीप नै जारी गरेपछि नेपाल समुह बादलको पक्षमा उभिने अवस्था बनेको हो ।