नागढुंगा सुरुङमार्गमा आधा कामदारले साइट छाडे
  • CIA Khabar

  • काठमाडौँ । निर्माणाधीन नागढुंगा सुरुङमार्गमा कार्यरत केही कामदारमा कोभिड–१९ देखिएसँगै कार्यरत आधा कामदार साइट छाडेर घर फर्किएका छन् । सुरुङमार्गमा कार्यरत ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजरसहित ३३ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ को दोस्रो लहर देखा नपर्दासम्म आयोजनामा ६ सय ५० भन्दा धेरै कामदार कार्यरत थिए । घरका सदस्य र आफन्तमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै करिब तीन सय कामदारले साइट छाडेर गएका हुन् ।

    नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले कोभिड–१९ को दोस्रो लहरले सुरुङमार्ग आयोजनामा आशिंक प्रभाव देखिन थालेको बताए । ‘आयोजनामा कार्यरत ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कामदारहरू त्रसित भएर साइट छाड्ने बढिरहेका छन्,’ उनले भने, ‘कामदारका घरका सदस्य र आफन्त संक्रमित भएर पनि साइट छाड्ने बढेका हुन् ।’ आयोजना प्रमुख शाक्यले कार्यरतमध्ये ५० प्रतिशत कामदार कोभिड–१९ को मनोवैज्ञानिक त्रासको कारण साइट छाडेर घर गएको बताए । ‘अहिले संक्रमित ३२ जनाको साइटकै आइसोलेसनमा र एकजनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने ।

    आयोजनाले साइटमा नै अक्सिजनसहितको मेडिकल सुविधा उपलब्ध गराउँदै आएको छ । आयोजना प्रमुख शाक्यले केही कामदारले साइट छाडेर गए पनि अहिलेसम्म सुरुङमार्ग निर्माणको काम भने प्रभावित भइनसकेको दाबी गरे । ‘अहिले पनि सुरुङ निर्माणको काम जारी छ,’ उनले भने, ‘कोभिड महामारीको समय भएकाले कति बेला के हुन्छ भनेर पूर्वानुमान गर्न सकिँदैन । अहिले हामीले कामदारको सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर काम गराइरहेका छौंं ।’

    आयोजना प्रमुख शाक्यले कामदारको सुरक्षामा उच्चतम सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण देखिएको बताए । ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम मात्रै नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’ आयोजनाका अनुसार कोरोना संक्रमण बढेसँगै काठमाडौंतर्फको पहुँचमार्ग, कल्भर्ट लगायतका काम भने प्रभावित भएको छ । अहिलेसम्म मुख्य सुरुङ ९७ मिटर खन्ने काम सकिएको छ । इभाक्युएसन टनेल ९सुरुङ० तर्फ भने चार सय मिटर खन्ने काम भइसकेको छ ।

    ‘निर्माण कम्पनीले क्याम्पभित्र कोभिड महामारी फैलिएको कारण मुख्य सुरुङको काम नियमित गर्ने भनेको छ,’ उनले भने, ‘सुरुङ बाहेकका अन्य काम भने केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ ।’ आयोजनाका अनुसार सुरुङ खन्ने र बाहिर खन्ने दुवैतर्फका कामदारमा कोभिड–१९ देखिएको छ । आयोजनाका अनुसार अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति १२ प्रतिशत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

     

  • ५ जेष्ठ २०७८, बुधबार १०:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images