गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारी
  • CIA Khabar

  • गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

    कोरोना संक्रमण रहेकै बेला सपथ ग्रहण गरेका मुख्यमन्त्री गुरुङले एकसातासम्म पनि मन्त्रिमण्डल विस्तार नगरेपछि बजेट, नीति तथा कार्यक्रम लगायतका कार्य प्रभावित हुँदै गएका थिए । आगामी असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणको काम पनि प्रभावित भएका छन् ।

    पोखरा । मुख्यमन्त्री गुरुङ वैशाख २२ मा कोरोना संक्रमण पुष्टि भएपछि हाल होम आइसोलेसनमा नै छन् । मन्त्रिमण्डल विस्तार नगर्दा बजेट निर्माण लगायतका कार्यमा प्रभाव पर्ने आवाज उठेपछि मुख्यमन्त्रीले सोमबार आफ्ना विश्वासपात्र मानिएका रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारीसँग छलफल गरेका थिए । छलफलपछि तत्काल सानो आकारको मन्त्रिमण्डल बनाउने गर्ने निष्कर्षमा मुख्यमन्त्री गुरुङ पुगेका हुन् ।

    उनले तत्कालका लागि भौतिक तथा विकास र अर्थमन्त्री नियुक्ति गरेर बजेट, नीति तथा कार्यक्रम ल्याउने योजनामा रहेको बुझिएको छ । यसअघि भौतिक विकास मन्त्रालय रामशरण बस्नेत र अर्थमन्त्रालय किरण गुरुङले सम्हाल्दै आएका थिए । नीति तथा कार्यक्रम, बजेट योजनाहरु ल्याउँदा क्याबिनेटमा कम्तिमा २ मन्त्री हुनु पर्ने संवैधानिक व्यवस्था छ । फेरि पनि बस्नेत र गुरुङलाई नै तिनै मन्त्रालयमा नियुक्ति गर्ने बुझिएको छ ।

    क्याबिनेटमा मुख्यमन्त्री एक्लै हुँदा सरकारको काम कारबाहीसमेत प्रभावित भएका छन् । क्याबिनेटको बैठक समेत बस्न पाएको छैन । त्यस्तै, स्वास्थ्य मन्त्री पनि नहुँदा कोरोनाविरुद्धको काम प्रभावकारी रुपमा अगाडी बढ्न सकेको छैन ।

  • ५ जेष्ठ २०७८, बुधबार १२:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images