अछाम । कोरोना रोकथाम तथा नियन्त्रणमा जिल्लाको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर यतिबेला सक्रिय भएर खटिरहनुभएको छ । उहाँले अस्पतालको अवस्था बुझ्नेदेखि घरदैलो गर्दै कोरोना संक्रमित बिरामीको अवस्थाकाबारेमा पनि जानकारी लिईरहनुभएको छ । उहाँले संक्रमितको मनोबल उच्च बनाउनका लागि रचनात्मक अभियानको थालनी गर्नुभएको हो ।
आफ्नो नगपालिकाका संक्रमितलाई भेट्न नगर प्रमुख कुँवर औषधि र केही खानेकुरा लिएर घरदैलो गरिरहनुभएको छ। भोट माग्न मात्र घरदैलो गर्ने नेताहरुको लागि चुनौती दिँदै नगर प्रमुख कोरोना कहरमा समेत सक्रिय रहेर घरदैलो गरिरहनुभएको छ । नगर प्रमुख कुँवरले स्वास्थ्यकर्मी सहित घर–घरमै गएर संक्रमितहरुको मनोबल उच्च बनाउन सुझाब दिने गर्नुभएको छ । उहाँले संक्रमितको उपचार भन्दा पनि मनोबल कमजोर भएका कारण समस्या जटिल देखिएको भन्दै घर–घरमै पुगेको बताउनुभयो ।
साँफेबगर नगरपालिका–१ वैजनाथमा कोरोना संक्रमण भई होम आईशोलेसमा बस्नुभएको परिवारलाई भेटघाट गर्दै उहाँले सबै वडाबासीलाई सजक रहन आग्रह गर्नुभयो । घरमै आइसोलेशनमा बसेका संक्रमितलाई थप केही समस्या भएमा खवर गर्न पनि अनुरोध गर्नुभएको छ । यसरी जनप्रतिनिधि घर–घरमै आएर संक्रमितको मनोवल उच्च बनाउने नगर प्रमुखको काम प्रशंसनीय भएको वैजनाथका स्थानीय डण्डीराज जोशीले बताउनुभयो ।
नगर प्रमुखले वयलपाटा अस्पतालमा उपचारर्थ कोरोना संक्रमितसँग पनि भेटघाट गरेर अस्पतालको अवस्थाबारे जानकारी लिनुभएको छ । अस्पताललाइ नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले उपचारार्थ संक्रमितलाई उच्च मनोवल बनाउन सुझाव दिनुभयो । अस्पतालमा भएको समस्याका विषयमा जानकारी दिँदै मेडिकल निर्देशक डा. मन्दिप पाठकले पालिकाको सहयोगले उपचारमा थप सहज भएको धारणा राख्नुभयो ।