काठमाडौं । नेपालमै उत्पादन हुने भएको रेमडिसिभिर औषधिको अनुमति नेसनल हेल्थ केयरले पाएको छ । कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको यस औषधि उत्पादन गर्न वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि व्यवस्था विभागले अनुमति दिएको हो । हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउनुभयो ।
उहाँले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले उत्पादनका लागि अनुमति दियौं तर बजार बिक्रिका लागि भने अनुमति पाइसकेको छैन । औषधि उत्पादनको प्रक्रियामै भएकाले त्यो प्रक्रिया पुरा भएपछि बजार बिक्रिका लागि पनि अनुमति दिन्छौँ।’
स्वदेशमै उत्पादन हुने भएपछि यस औषधि यही महिनाको अन्त्यसम्म बजारमा आइसक्ने पनि जनाएको छ । यता नेसनल हेल्थकेयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु भइसकेको बताउनुभयो । उहाँले आफूहरुले मापदण्डअनुसार औषधि उत्पादन सुरु गर्ने पनि जानकारी दिनुभयो ।