बादल हटेपछि ईश्वर पोखरेललाई गृहमन्त्री बन्ने अवसर मिल्न सक्ने
  • CIA Khabar

  • काठमाडौ । सर्वोच्च अदालतले गृहमन्त्री रामबहादुर थापा बादललाई पदमुक्त गरेसँगै अब उपप्रधानमन्त्री ईश्वर पोखरेललाई गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ । उपप्रधानमन्त्री पोखरेलले यस अघिदेखि नै गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने चाहना राख्दै आएका थिए ।

    सर्वोच्च अदालतले गैर सांसदलाई दोहो¥याएर मन्त्री बनाउनु प्रथम दृष्टिमै संविधानविपरीत भएको ठहर गरेपछि बिहीबारदेखि नै बादलसहित पूर्व माओवादीका ७ मन्त्रीहरु स्वतः पदमुक्त भएका छन् ।

    बिहीबारै भएको राष्ट्रियसभाको उप चुनाव जितेको भए बादललाई पुनः सांसदको सपथ खाएर गृहमन्त्रीमा नियुक्त हुने ठाउँ रहन्थ्यो । तर, बिहीबारै भएको राष्ट्रियसभाको उप चुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको छ ।

    पूर्व माओवादीका बरिष्ठ नेता रहेका बादल गृहमन्त्री पद जोगाउनकै लागि माओवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए । एमाले पार्टीभित्र अहिले माधव नेपाल पक्षले ०७५ जेठ २ मा फर्कनुपर्ने माग गरिरहेको छ । माधव पक्षको माग पूरा भयो भने पार्टीमा पनि बादलको पदीय जिम्मेवारी थप धरापमा पर्ने देखिएको छ ।

    बादल पदमुक्त भएपछि गृहमन्त्रालयको दाबी उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वाभाविक रुपमा गर्ने एमाले नेताहरु बताउँछन् । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमाले जनका लागि खाली भएका छन् ।

    सर्वोच्चको आदेशसँगै लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले सम्हालेका मन्त्रालयहरू एकैचोटि खाली भएका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images