राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी
  • CIA Khabar

  • काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ ।

    शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् ।

    यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

    काँग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट विहीबार जारी नयाँ सरकार गठनसम्बन्धी आह्वानबारे चर्चा गर्दै एस एन एन नेपाल सँग भने, ‘यो त अति भयो । यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना हो यो । यो विषयमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आएको छ ।’

    संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने बेला आएको लेखकको भनाइ छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र लोकतन्त्रमाथि खतरा पैदा भएको लेखकले बताए । उनले भने, ‘यो देशबाट गणतन्त्र जान्छ भने विद्या भण्डारीका कारणले जान्छ । लोकतन्त्र जान्छ भने केपी ओलीका कारणले जान्छ । यो कुरा जनतामा लैजानका लागि पनि महाअभियोग र अविश्वासको प्रस्ताव ल्याउनुपर्छ ।’

    राष्ट्रपतिविरुद्धको महाअभियोग पास हुने अवस्था नबनेपनि त्यो ठाउँसम्म पुग्नुपर्ने अवस्था आएको उनले बताए । काँग्रेस नेता लेखकले एस एन एन नेपालसँग भने, ‘भोलि यो लडाइँमा महाअभियोग पास होला न होला, अलग कुरा हो । तर, त्यो ठाउँसम्म जाने कुरा हो यो ।’

    महाअभियोग पास हुन संसदको दुई तिहाइ चाहिने संवैधानिक व्यवस्था छ । विपक्षी दलसँग महाअभियोग पास गर्ने गणित भने छैन ।

    शुक्रबार बिहानको बैठकमा यिनै विषयमा छलफल हुने लेखकले बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लिएर जाने हो कि ? अथवा महाअभियोग पनि लिएर जाने हो कि रु वा अर्को सरकार बनाउनका लागि तयारी गर्ने हो कि, यिनै विषयमा छलफल हुन्छ ।’

    विहीबार साँझ एस एन एन नेपालसँगको भएको कुराकानीमा यसबारे छलफल गर्न देउवा पनि तयार भएको लेखकले बताए ।

    यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहमत नै देखिएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० अनुसार सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको टिप्पणी छ ।

    यस्तै काँग्रेसका नेता गगन थापाले पनि महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने बताएका छन् । थापाले भने, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याऔं र यिनले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।’

    वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दलहरूलाई पनि संविधान र संसद बचाउन शुक्रबार नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सुझावका छन् ।

    ‘संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु गर्नुपर्छ,’ एस एन एन नेपालसँग थापाले भने, ‘अहिलेको अवस्थामा संसद बाँच्न जरुरी छ ।’

    उता माओवादी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिले संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै यो क्षम्य नहुने बताएका छन् । प्रचण्डको आक्रोश हेर्दा माओवादीले पनि राष्ट्रपतिमाथि महाअभियोग लगाउने काँग्रेसको प्रस्तावलाई समर्थन जनाउने संकेत देखिएको छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार ०६:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images