काठमाडौं । एमाले नेता माधवकुमार नेपालले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दुश्प्रयाश गरेपछि अर्का सांसद पनि बिद्रोहमा उत्रिनुभएको छ ।
सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल समुहका प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको प्रष्ट पार्नुभएको छ । आफू एमाले विभाजन कुनै पनि हस्ताक्षरमा सहभागी नभएको र देउवालाई प्रधानमन्त्री बनाउन पनि हस्ताक्षर नगरेको भन्दै राईले मावधको कामप्रति कडा आपत्ति जनाउनु भयो ।
‘म एमाले एकताको पक्षमा छु, एमालेका लाखौं नेताकार्यकर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन र हुन्न पनि,’ राईले भन्नुभयो । आफूले सदन विघटन अगाडि पुसमा सदन बोलाउने नाममा मात्रै हस्ताक्षर गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
‘सदन बोलाउने कुरामा गरेको हस्ताक्षर देउवा प्रधानमन्त्री बनाउन भनेर प्रयोग भएको हो भने त्यो दुरुपयोग हो । मेरो त्यसमा कुनै समर्थन हुँदैन,’ सांसद राईले भन्नुभयो । सांसद राईले आफ्नो हस्ताक्षर दुरुपयोगको कडा शब्दमा निन्दासमेत गर्नुभएको छ ।