कपिलवस्तु । कपिलवस्तु प्रहरीले नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुधबार राति पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा २ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
घटनाका आरोपित कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ बर्षीय ओमप्रकाश यादव र सोही नगरपालिका वडा नं। २ बस्ने साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
नेता पाण्डेमाथि ३ राउण्ड गोली प्रहार भएको थियो । उनको भैरहवा मेडिकल कलेजमा उपचार भैइरहेको छ ।
उनीहरुले प्रयोग गरेको लु १६ प ३४९७ नं। को पल्सर मोटरसाइकल, दुई थान मोवाईल, गोली र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
पक्राउ परेका आरोपित यादवले व्यक्तिगत रिसिबीका कारण आफूले गोली प्रहार गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले बताएको छ । व्यक्तिगत रिसइवीका कारण पाण्डेयलाई गोली हानी हत्या गर्ने योजना बनाएको आरोपितले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । नेता पाण्डे सडवाबाट तौलिहवातर्फ मोटरसाइकलमा आउँदै गर्दा उनीमाथी गोली प्रहार भएको थियो ।
पाण्डेसँगै रहेका अर्का भारतीय नागरिक मोहमद ईसाद खान पनि घाइते भएका थिए ।