काठमाडौं । संसदीय मुल्य मान्यता र बिधि पद्धतीबिपरित एमाले नेता माधवकुमार नेपालले चालेको कदमका कारण मुलुक मध्यावधी निर्वाचनमा पुगेको छ । आफ्नै पार्टीका अध्यक्षबिरुद्ध अभियान चालेर बिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै आफू निकट सांसदहरुको हस्ताक्षरसमेत दुरुपयोग गरी माधवले अनैतिक काम गर्नुभएपछि बैकल्पिक सरकार निर्माण हुन नसकी मध्यावधी निर्वाचनमा गएको हो ।
परराष्ट्रमन्त्री एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेकै सांसदहरुको कारण मुलुक मध्यावधि निर्वाचनमा गएको प्रष्ट पार्नुभयो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दावी नपुगेको भन्दै राष्ट्रपतिले खारेज गर्नुभएपछि शुक्रवार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिशअनुसार निर्वाचनको मिति तोकिसक्नु भएको छ ।
मन्त्रिपरिषद बैठकपछि एस एन एन नेपालसँग कुरा गर्दै मन्त्री ज्ञवालीले माधव नेपालसहितका एमालेकै सांसदहरुले शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका कारण मुलुक मध्यावधितर्फ गएको तथ्य राख्नुभयो । ‘बैकल्पिक सरकार गठन हुन नसकेपछि अनिवार्य रुपमा मध्यावधिमा जानु थियो । यो कुरा राष्ट्रपतिको पत्रले नै प्रस्ट पारेको थियो । संविधानको धारा ७६ ९५० अनुसारको प्रधानमन्त्री बन्न साथीहरुले दिनु भएन। यदि हाम्रा साथीहरुले उता हस्ताक्षर नगरेको भए महन्थजीको दलका १२ जनाले अन्त हस्ताक्षर गरे पनि फरक पर्दैनथ्यो,’ ज्ञवालीले भन्नुभयो, ‘हाम्रो १२१ र महन्थजीहरुको २० जना रहँदा संसद जोगिन्थ्यो । विश्वासको मत प्राप्त हुने वातावरण हुन्थ्यो । संसदले पूर्ण कार्यकाल बिताउन पाउँथ्यो । हाम्रै साथीहरुको कारणले गर्दा मुलुक मध्यावधिमा गयो ।’
उहाँले सरकार मध्यावधीमा जान नचाहँदा नचाहँदै संबिधानअनुसार बाध्य भएको पनि बताउनु भयो । यसअघि शुक्रवार दिउसो सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफू मध्यावधी निर्वाचनमा जान नचाहेको तर बैकल्पिक सरकार गठन गर्न नसके त्यस्को बिकल्प नभएको बताउनु भएको थियो ।