काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार देशभर ८९८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका तथ्यांकअनुसार सोही अवधिमा संक्रमितमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ३८.५४ प्रतिशत अर्थात १ लाख ९४ हजार ८९१ जना महिला रहेका छन् भने ६१.४६ प्रतिशत अर्थात ३ लाख १० हजार ७५२ जना पुरुष रहेका छन् । संक्रमितमध्ये १.२२ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हालसम्म २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर परीक्षण भएको छ भने परीक्षण प्रति १० लाखमा ९९ हजार ४४४ जनामा भएको छ ।
हाल संक्रमण देशका सबै जिल्लामा फैलिएको छ भने केही जिल्लाबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । केही सातायता निरन्तर निषेधाज्ञा जारी भएपनि संक्रमण दर भने घट्न सकेको छैन ।