माओवादीले भनिरहने सत्ताकब्जा ओलीले प्रत्यक्ष गरेर देखाए: नेता कोइराला
  • CIA Khabar

  • काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले चालेका कदमले उनको लोकतन्त्रप्रति कुनै लगाव नरहेको प्रष्ट देखिएको बताएका छन्।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले फेरि पनि गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको रहेको भन्दै उनले यस्तो बताएका हुन्।

    उनले राष्ट्रपति र प्रधानमन्त्री दुवै जना मिलेर सत्ताकब्जा गरेको समेत बताए।

    ‘माओवादीले पहिले सत्ताकब्जा सत्ताकब्जा भन्थ्यो नि उसले गर्न खोज्यो सकेन र छोड्यो। तर राष्ट्रपति भण्डारीसँग मिलेर केपी ओलीले अहिले सत्ता कब्जा गरेर देखाइदिए,’ शनिबार एस एन एन नेपालसग कुरा गर्दै उनले भने, ‘हेर्नुस् त अख्तियारमा उनकै मान्छे छन् निर्वाचन आयोगमा उनकै मान्छे। राष्ट्रपति उनले जे भन्यो त्यही मान्ने अनि प्रधानमन्त्रीले आफूलाई जे मन लाग्यो त्यही गर्ने संविधान नमान्ने। यही त हो सत्ता कब्जा भनेको !

    राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछिको आन्दोलनका बेला ओलीका भनाइहरू कोइरालाले सम्झिए।

    त्यतिखेर राजाविरूद्ध बोलेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादव, कोइराला, एमालेका नेता युवराज ज्ञवाली लगायतलाई त्रिपुरेश्वर आँखा अस्पतालको पछाडि पहरा गणमा राखिएको थियो। त्यो जाडोको महिना थियो।

    एकदिन ओली र भण्डारी उनीहरूलाई भेट्न गएका थिए। राजाविरूद्ध आन्दोलन गरेर केही पार नलाग्ने कुरा त्यतिखेर ओलीले आफूहरूलाई सुझाएको कोइराला सम्झिन्छन्।

    ‘हामीलाई भेट्न उहाँहरू आउनु भयो। अनि भन्नुभो: तपाईंहरू राजाविरूद्ध लडेर कहाँ सक्नुहुन्छरु यो सब पार लाग्दैन हेर्नुहोस् राजाले केही दिँदैन बरू कागज गरेर छुट्नुहोस्,’ उनले भने, ‘हामी राजाको प्रतिगमनविरूद्ध आन्दोलनमा हुँदा उहाँहरूको त्यस्तो कुरा भन्नु हुन्थ्यो। उहाँहरूमा त्यतिबेलै लोकतन्त्रको आन्दोलन गणतन्त्रप्रति लगाव थिएन।’

    कोइरालाका अनुसार, त्यसैताका ओलीले बयलगाडा चढेर अमेरिका पुगिन्न भन्दै भाषण गर्न थालेका थिए। राजाविरूद्धको आन्दोलनलाई होच्याउनेरगिज्याउने गर्न केपी ओलीले कुनै कसर छोडेका थिएनन्।

    ‘पछि त उहाँले सार्वजनिकरूपमै बयलगाडामा चढेर अमेरिका पुगिन्न भन्दै राजाविरूद्ध आन्दोलन गर्नेहरूलाई हियाउनुभयो। उहाँमा लोकतन्त्रप्रति आस्था निष्ठा त उहिलैदेखि थिएन। अहिले पुष्टि भएको हो,’ उनले एस एन एन नेपालसगँ भने।

    २०६२र६३ सालको आन्दोलनपछि राजतन्त्र गयो। गणतन्त्र र राज्य पुनर्संरचनासहितको संविधान निर्माणमा देश गएका बेला ओली फेरि संघीयता विरोधी भएर निस्किएको उनले बताए।

    ‘संविधान निर्माणका बेला देश संघीयतामा जाने बहस चलिरहेको थियो। ओलीजी त्यसको पक्षमा हुनुहुन्नथ्यो। बनाए पनि ३ प्रदेश भए हुन्छ भन्दै हिँड्नुहुन्थ्यो खास रूची थिएन,’ उनले भने, ‘त्यसैले गणतन्त्र र संघीयतामा उहाँलाई मन परेको कुरै होइन।’

    ओली प्रधानमन्त्री भएपछि जब सम्पत्ति शुद्धीकरण विभाग, राजस्व विभाग प्रधानमन्त्री कार्यालयमातहत ल्याए त्यही बेलादेखि आफूले ओली सर्वसत्तावादको दिशामा छन् भन्दै आइरहेको उनले बताए।

    ओलीले विस्तारै विस्तारै राज्यका सबै अंग कब्जा गरेर संविधान पनि मिच्न थालेको उनको भनाइ छ।

    ‘अहिले त उहाँहरू संविधानभन्दा माथि आफूहरूलाई राखेर बस्नु भएको छ। राष्ट्रपतिले पनि संविधानको मर्यादा त्यसको संरक्षण गरेर बस्नुपर्ने बस्नुभएन,’ उनले भने, ‘हामी प्रतिपक्षमा रहेका दलहरूको पनि उहाँलाई कडा प्रतिरोध गर्नुपर्नेमा नगरेर चुक्यौं।’

    आफ्नो पार्टी कडा तरिकाले संसद र सडकमा ओलीका स्वेच्छाचारी कदमविरूद्ध लडेको भए यो दिन नआउने उनले बताए।

    ‘सुरूमा उहाँले ल्याएको नीति तथा कार्यक्रमको विरोधै गरेन कांग्रेसले त्यहाँ चुक्यौं। संवैधानिक परिषद लगायतका नियुक्तिमा चुप बस्यौं। उपसभामुख नियुक्ति नगरेकोमा बोलेनौं। हामी बोलेनौं भनेर केपी ओलीको मनोबल बढ्यो,’ उनले भने, ‘हुँदा हुँदा संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्दा पनि सबै दलमा ओलीका समर्थक देखिए। कांग्रेसमा देउवा आफैंले दह्रो गरी नउभिएर ओलीलाई साथ दिनुभो।’

    ओलीले राज्यका सबै अंग कब्जा गरेपछि कोरोनाको बेला गराउन खोजेको चुनावले संविधान नबचाउने कोइरालाको भनाइ छ।

  • ८ जेष्ठ २०७८, शनिबार २०:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images