गुल्मी । गुल्मीमा पछिल्लो २४ घण्टामा १ सय ५३ जना कोरोना सङ्क्रमण मुक्त भएसँगै जिल्लामा कुल ५ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।१सय ५६ जनाको पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।
जिल्लाका १२ स्थानीय तहहरुमध्ये गुल्मी दरबार गाउँपालिकाका १९ जना, इस्मा गाउँपालिकाका १५ जना, रुरुक्षेत्र गाउँपालिकाका ९ जना, रेसुङ्गा नगरपालिका, छत्रकोट र सत्यवती गाउँपालिकाका ३/३ जना, कालीगण्डकी गाउँपालिकाका २ जना, धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिकाका १/१ जना गरी ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। योसँगै गुल्मीमा कुल सङ्क्रमितको सङ्ख्या १हजार ६ सय ९२ पुगेको छ।
जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १हजार ३५ रहेको छ। पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिकाकी ५६ वर्षकी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो। योसँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस सङ्क्रमणका कारण गुल्मीमा ६४ जनाले ज्यान गुमाएका छन्।