काठमाडौ । नेपाल प्रहरीलाई आधुनिकीरणको बाटो देखाउने पूर्वआइजीपी खड्गजित बराल जेठ ५ मा संसारबाट बिदा भएका छन् । उनका निधनबाट प्रहरी संगठनका अधिकारीहरुले अभिभावक गुमाएको महसुस गरेका छन् । ९३ वर्षको उमेरमा पूर्वआईजीपी बरालको निधन भएको हो ।
खड्गजित बराल फौजमा छिरेको १४ वर्षको सेवा अवधिमै प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) भए । नेपाल प्रहरीको इतिहासमा बराल यस्ता महानिरीक्षक हुन् जसले पेन्सनका लागि चाहिने २० वर्ष सेवा अवधि नपुग्दै महानिरीक्षकको चार वर्षको कार्यकाल पूरा गरे ।
आईजीपीले समेत पेन्सन नपाउने अवस्था भएपछि दरबारले उनलाई थप दुई वर्ष कामु महानिरीक्षक बनायो । नेपाल प्रहरीको इतिहासमा बरालले ६ वर्ष महानिरीक्षक बन्ने अवसर पाएका थिए । बराल २०२९ असारमा प्रहरीको सर्वोच्च पदमा पुगे, २०३५ मा अवकाश पाए ।
क्रान्तिमा होमिएका, रामदलबाट आएका र तत्कालीन शाही सेनाबाट आएकालाई आईजीपी बनाउने परम्परालाई बरालले नै ब्रेक लगाएका थिए । उनी खुला प्रतिस्पर्धाबाट प्रहरीमा भर्ना भएर आईजीपी बन्ने पहिलो व्यक्ति हुन् । चन्द्रशमशेर र नरशमशेर सेनाबाट गएर आईजीपी भएका थिए । शाही सेनाबाट आएका विभागीय प्रमुख हुने हुनाले तत्कालीन प्रहरी सङ्गठन ‘आर्मी डोमिनेटेड’ थियो । तर, खड्गजितले त्यसबाट प्रहरीलाई बाहिर निकाले ।
पाटी, पौवामा बसेर जनधनको सुरक्षा गर्नुपर्ने प्रहरीको बाध्यता थियो । बरालले पुलिसका लागि भवन बनाउने कामको पहलकदमी लिए । सरकारसँग थोरै पैसा लिने अनि व्यापारी र समाजसेवीसँग चन्दा लिएर भवन बनाउने कामको सुरुवात बरालले नै गरेको बताउँछन् उनलाई नजिकबाट जानेका पूर्वप्रहरी उपरीक्षक शेरबहादुर कार्की । बराल आईजीपी हुँदा क्राइम सिन फोटोग्राफर रहेका पूर्वएसपी कार्कीले रातोपाटीसँग भने– ‘सरकारसँग भनेर थोरै रकम निकासा गराउने अनि जनतासँगको पार्टनरसिपमा चन्दा उठाएर त्यतिबेला धेरै भवन बनेका थिए । अनि प्रहरी पौवाबाट आफ्नै कार्यालय र ब्यारेकमा सर्न थाले ।’
भारतमा बसेर उनले एमए तहसम्म पढे । २००७ सालको क्रान्तिमा मुक्ति सेनाका रूपमा पनि उनी लडाइँमा होमिएका थिए । नेपाली काँग्रेस, राजा र राणाबीच प्रजातन्त्र स्थापनाको सहमति भएपछि बराल प्रहरी बन्ने प्रतिस्पर्धामा होमिए ।
प्रहरीको उच्च पदमा पुगेपछि बरालले सीमा सुरक्षाको अवधारणा अगाडि सारेका थिए । दरबन्दी निकासा गरेर नेपाल–भारत सिमानामा प्रहरी बस्न थालेको थियो । तराईमा महेशपुर, झुलाघाट र मिर्चैयामा भवन पनि बनेको थियो । पछि सीमा सुरक्षाको जिम्मेवारीबाट प्रहरीलाई हटाइयो ।