काठमाडौँ । बैकिङ्ग प्रणालीमा (शनिबारसम्म) जेठ ८ गतेसम्म ६२ अर्ब ४९ करोड रुपैयाँ अधिक तरलता रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यो कुल ऋण प्रवाहको (४० खर्ब ६७ अर्ब) ०।१५ प्रतिशत रकम हो । बैङ्कहरूले यो सबै रकम लगानी गर्न पाउँनेछन् ।
यता नेपाल राष्ट्र बैङ्कका सह प्रवक्ता नारायण पोखरेलले बैङ्कहरूसँग लगानी गर्न मिल्ने रकम बढ्दै गएको बताएका छन् । पोखरेल भन्छन्, ‘एउटा बैङ्कले अर्को बैङ्कसँग यो रकम सापट लिन पाउँदैन । बैङ्कहरू केन्द्रिय बैङ्कमा नै आउनुपर्छ । यदि अझै बढी निक्षेप उठाए भने बैङ्कहरूले लगानी पनि बढाउँन सक्छन् ।’
तरलता कम भएपनि पछिल्लो समय बैङ्कले बचत र कल निक्षेपको ब्याजदर लगातार घटाउँदै लगेका छन । कोरोना महामारीबाट अर्थतन्त्रको पुनरुत्थान गर्न ब्याजदर तल्लो स्तरमा राख्ने राष्ट्र बैङ्कको नीतिमा बैङ्कहरुले साथ दिएका छन् । चैत मसान्तमा बैङ्कहरुको प्रकाशित गरेको वित्तिय विवरण अनुसार बैङ्कहरुको आधार दर घटेको छ यसले बैङ्कको कर्जाको ब्याजदर एकल विन्दु मै आउने देखिन्छ ।
शुक्रबारसम्म बैङ्कको सीसीडी रेसियो ७८.७० प्रतिशत रहेको छ । केन्द्रिय बैङ्कले ८५ प्रतिशतसम्म सीसीडी रेसियो (कर्जा पुँजी, निक्षेप अनुपात) मा जान सक्ने सुविधा बैङ्कहरुलाई दिएको छ । यसको मतलब अब ६।३ प्रतिशत स्पेस बैङ्कहरूसँग अझै छ ।
उनीहरुसँग भएको सबै रकम लगानी गर्दा भने सीसीडी रेसियोमा चाप पर्ने देखिन्छ । सिआरआर (क्यास रिभर्स रेसियो, अनिवार्य नगद अनुपात) मेन्टन भएन भने मात्र कारबाहीमा पर्ने हो । यस मार्फत बैङ्किङ क्षेत्रमा तरलता तथा ब्याजदर नियन्त्रणको प्रयास केन्द्रीय बैङ्कले गर्छ ।
बिस्तारै बढ्दै तरलता :
बैङ्किङ प्रणालीमा अहिले लगानी गर्ने रकम विस्तारै बढ्दै गएको छ । केही दिन अघि मात्र ४८ अर्ब अधिक तरलता रहेको बैकिङ प्रणालीमा अहिले ६२ अर्ब पुगेबाटै तरलता बढ्दै गएको स्पष्ट हुन्छ । अघिल्लो चरणको कोरोना माहामारी बढ्दै गएपछि भएको लकडाउनले लगानी गर्ने क्षेत्रहरु बन्द हुँदा झण्डै २ खर्ब तरलता थुप्रिएको थियो । तर अहिले निषेधाज्ञामा सम्पूर्ण क्षेत्र पूर्ण ठप्प छैनन । यसकारण पनि लगानी ठप्प नभएको हो ।
वाणिज्य बैङ्कहरूले बैशाखमा मात्र १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैङ्कर्स संघको तथ्यांकमा छ । यस्तै सो महिना ४६ अर्ब ऋण लगानी गरेका थिए । अहिले बैङ्कहरुको कर्जा लगानी ४० खर्ब ६७ अर्ब छ भने निक्षेप संकलन ४४ खर्ब ७४ अर्ब रुपैयाँ रहेको केन्द्रिय बैङ्कको तथ्यांकमा छ ।