हेटौंडा अस्पतालका सिनियर डाक्टर नै निजी मेडिकल धाउँदै
  • CIA Khabar

  • काठमाडौ । हेटौँडा अस्पतालका डाक्टरहरु निजी मेडिकल धाउने गरेको पाइएको छ । हेटौंडाको एक पोलिक्लिनिकमा अस्पतालका सरकारी डाक्टरको नामको स्ट्याम्प र पर्चासमेत फेला परेको हो ।

    मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मा नेतृत्वको बजार अनुगमन टोलीले बजार अनुगमनका क्रममा आइतबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित मिलन पोलिक्लिनिकमा हेटौँडा अस्पतालमा कार्यरत डाक्टरहरुको प्रचारप्रसारका लागि प्रयोग गरिएको पर्चा र स्ट्याम्प फेला पारेको हो ।

    उक्त पोलिक्लिनिकमा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, नवजात शिशु तथा बालरोग विशेषज्ञ तथा अस्पतालका पूर्व मेसु डा। हरिप्रसाद खड्का, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकाजी महर्जन, अर्थोपेडिक सर्जन डाक्टर रामचन्द्र सापकोटाको पर्चा र स्ट्याम्प फेला परेको हो ।

    अस्पतालमा कार्यरत डाक्टरहरु सरकारी सेवा सुविधा उपभोग गरी निजी मेडिकल तथा पोलिक्लिनिकहरुमा आएर उपचार सेवा प्रदान गर्ने गरेको पोलिक्लिनिकका सञ्चालकले स्वीकार गरेका छन् । हेटौँडा अस्पतालका निमित्त मेसु डा। प्रविण श्रेष्ठले सेवा दिने सम्बन्धमा छलफल हुँदै गरेको र सोही कारण स्ट्याम्प र पर्चा बनाएको पोलिक्लिनिकले बताएको छ ।

    जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि हेटौंडा अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिँदै आएको छ । सरकारी सेवा सुविधा बुझ्ने हेटौंडा अस्पतालका उच्च दर्जाका यी डाक्टरहरु कोरोना नियन्त्रण तथा संक्रमितको उपचारमा खासै चासो नदेखाउने आरोप लाग्दै आएको छ । यता, उक्त पोलिक्लिनिक हालसम्म कुनैपनि सरकारी निकायमा दर्ता नै नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    अनुगमन टोलीले दर्ता प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेको भन्दै उक्त पोलिक्लिनिकलाई सिल गरेको छ । सम्बन्धित निकायबाट फार्मेसी मात्रै सञ्चालन गर्ने अनुमति पाएको उक्त पोलिक्लिनिकले निर्वाध रुपमा विरामी जाँच तथा उपचार सेवाका लागि पोलिक्लिनिकसमेत सञ्चालन गर्दै आएको थियो ।

  • ९ जेष्ठ २०७८, आईतवार २१:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images