१० महिनामा साढे ११ खर्ब घाटा: निर्यात लक्ष्य पूरा
  • CIA Khabar

  • काठमाडौँ । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।

    भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि नै १ खर्बको निर्यात लक्ष्य राखे पनि चालू आर्थिक वर्ष १० महिनामै सफलता मिलेको हो ।

    १ खर्बको निर्यात लक्ष्य १० महिनामै पूरा :

    भन्सार विभागका अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशत बढेको छ । व्यापार घाटा बढे पनि निर्यात प्रतिशत ३२ प्रतिशतले बढेको छ । आयात २२ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९२ दशमलव शून्य ४ र निर्यात ८ प्रतिशत छ ।

    सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । १० महिनामा भारतसँग मात्र ७ खर्ब ३६ अर्ब ३० करोड ३२ लाख ८५ हजारबराबर व्यापार घाटा भएको छ । भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोडको आयात हुँदा ७९ अर्ब ३२ करोड ७४ लाखबराबर मात्र निर्यात भएको छ । भारतपछि चीनसँग १ खर्ब ८२ अर्ब २९ करोडको व्यापार घाटा भएको छ । चीनतर्फ चालू आवमा ८९ करोड ७६ लाख २६ हजारको मात्र निर्यात भएको छ ।

    यसैगरी, अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड ७९ लाख र संयुक्त अरब इमिरेट्सँग ३० अर्ब २२ करोडको व्यापार घाटा रहेको छ । युुक्रेनसँग १३ अर्ब १५ करोड, इन्डोनेसियासँग १३ अर्ब १४ करोड र क्यानाडासँग १२ अर्बको व्यापार घाटा छ । व्यापार घाटा रहेका मुलुकमा दक्षिण कोरिया, दक्षिण अफ्रिका, मलेसिया, थाइल्यान्ड छन् । अन्य मुलुकमा साउदी अरेबिया, भियतनाम, बंगलादेश, पाराग्वे, सिंगापुर, जापना, ओमान र अमेरिका क्रमिक रूपमा छ ।

    व्यापार नाफा भएका मुलुकमा सबैभन्दा अगाडि लेबनान रहेको छ । लेबनानसँग १८ करोड ८ लाख ८८ हजार रुपैयाँको व्यापार नाफा छ । लेबनानबाट ९८ लाख ६० हजारको आयात हुँदा १९ करोड ७ लाख ४९ हजार रुपैयाँको निर्यात भएको छ । डेनमार्कसँग भने १७ करोड ५८ लाखको व्यापार नाफा रहेको छ । युनाइटेड किंगडमसँग १६ करोड १४ लाख ५० हजार रुपैयाँको व्यापार नाफा छ । व्यापार नाफा भएका मुलुकमा क्रमशः सुडान, अंगुलिया, आइसल्यान्ड, न्यु क्यालेडोनिया, यमन, फिजी, मोनाकोलगायत छन् ।

    चालू आर्थिक वर्षको १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षभन्दा १३ अर्ब रुपैयाँभन्दा बढी हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ । त्यस्तै, १० महिनामा १ खर्ब २१ अर्बको आइरन र स्टिल, १ खर्बको मेसिनरी सामग्री, ८२ अर्बको गाडी र पाटपुर्जा, २६ अर्बको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । ४२ अर्बभन्दा बढी डिजल भित्रिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

  • १० जेष्ठ २०७८, सोमबार ०९:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images