विद्युत् आयात घट्यो: आन्तरिक उत्पादन बढ्यो
  • CIA Khabar

  • काठमाडौँ । निषेधाज्ञाका कारण धेरै कलकारखाना बन्द हुँदा विद्युत्‌को उच्च माग घटेको छ । आन्तरिक उत्पादन बढेको र विद्युत्‌को उच्च माग पनि कम भएका कारण भारतबाट आयात गरिने विद्युत् परिमाण पनि घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार शुक्रबार राति विद्युत्को उच्च माग १ हजार २ सय २६ मेगावाटमा झरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । निषेधाज्ञा सुरु हुनुअघि विद्युत्को उच्च माग १ हजार ४ सय ५२ मेगावाटसम्म पुगेको थियो । वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरमा निषेधाज्ञा जारी छ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूबाट उत्पादन हुने विद्युत् परिमाण बढेकाले भारतबाट आयात घटेको उनको भनाइ छ ।

    शुक्रबारको तथ्यांकअनुसार निजी क्षेत्रका आयोजनाबाट ३ सय ५० मेगावाट विद्युत् उत्पादन भएको छ । प्राधिकरणका आयोजनाबाट ३ सय ९० मेगावाट विद्युत् उत्पादन भएको थियो । निजी क्षेत्रको आयोजनाको जडित क्षमता ७ सय ५० मेगावाट पुगे पनि रन अफ रिभर प्रकृतिका आयोजनाबाट सुक्खायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्न ।

    चैत र वैशाखमा आन्तरिक उत्पादन न्यून हुँदा कुलेखानीलाई दैनिक केही घण्टा पूर्ण क्षमतामा चलाइएको थियो । अहिले भने कुलेखानी आयोजना सञ्चालन नगरिएको तिम्सिनाले जानकारी दिए । शुक्रबार भारतबाट ४ सय ८७ मेगावाट विद्युत् आयात गरिएको थियो । निषेधाज्ञाअघिसम्म प्राधिकरणले विद्युत् माग धान्न कुल मागको ६५ प्रतिशतभन्दा बढी विद्युत् ल्याइरहेको थियो ।

    आन्तरिक उत्पादन केही बढेपछि र माग पनि कम भएपछि हाल कुल मागको करिब ४० प्रतिशत हाराहारीमा मात्रै विद्युत् आयात भइरहेको छ । बिहीबार विद्युत्को उच्च माग एक हजार ५२ मेगावाटमा सीमित भएको थियो । काठमाडौं उपत्यकामा मात्रै विद्युत्को उच्च माग करिब २ सय ५० मेगावाट हाराहारीमा छ ।

    प्राधिकरणले दैनिक आवश्यक पर्ने विद्युत् भारतको इनर्जी एक्सचेञ्ज मार्केटबाट खरिद गरेर ल्याउन सुरु गरेको छ । प्राधिकरणले मे १ तारिखदेखि भारतको इनर्जी एक्सचेञ्जबाट विद्युत् खरिद सुरु गर्न थालेको हो । भारतमा पनि विद्युत् माग कम भएर भाउ घटेकाले इनर्जी एक्सचेञ्जबाट विद्युत् किन्दा प्राधिकरणलाई सस्तो परिरहेको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

  • १० जेष्ठ २०७८, सोमबार ०९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images