काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी ४ हप्तामा कोरोना भाइरसको संक्रमणको दर क्रमश घट्दै जाने अवस्था देखिएको बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले संक्रमणको दरलाई हेर्दा अबको ४ हप्तामा घट्दै जाने देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक औसतमा ८ हजार ३ सय संक्रमित थपिइरहेको जानकारी दिनुभयो ।
उहाँले अझै पनि केही स्थानमा आवातजावत भइरहेको र केही कार्यालयहरु पनि खुलिरहेका कारण संक्रमणमा उल्लेख्य कमी नआएको बताउनुभयो । हाल देशभर १ लाख १५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । कार्यक्रममा मन्त्री त्रिपाठीले भन्नुभयो,‘संक्रमितको उपचारका साथै नियन्त्रण गर्न हामी लागिरहेका छौं, अहिलेको अवस्थालाई हेर्दा आगामी ४ हप्तामा संक्रमण क्रमश घट्दै जाने देखिन्छ ।’
संकटकाल लगाउने विज्ञको सुझावमा सकारात्मक :
पछिल्लो समय काठमाडौँ उपत्यकाकासहित देशभर संक्रमण दर केही कम देखिए पनि बिरामी गम्भीर हुने र मृत्यु हुने अवस्थामा न्युनिकरण नदेखिएसँगै स्वास्थ्यका विज्ञहरुले तत्काल संकटकाल लगाउन सुझाव दिएका थिए । त्यस्तै कार्याक्रममा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताउनुभएको हो ।
कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको भन्दै सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि विभिन्न देशसँग उच्चस्तरमा छलफल भइरहेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार कोभिड – १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको जारी अध्यादेश अनुसार काम अगाडि बढाउने पनि जानकारी दिनुभयो ।