काठमाडौं । पार्टी सदस्यबाट निष्कासनमा परेका एमाले नेता भीम रावलले अध्यक्ष केपी ओलीको कदम फुटवादको निरन्तरता भएको जिकिर गरेका छन् । केपी गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गर्नु हास्यास्पद भएको उनको भनाइ छ ।
नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।
यसबारे प्रतिक्रिया दिँदै रावलले लेखेका छन्, पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।