पाल्पा-पाल्पाकाे रैनादेबी छहरा गाउँपालिकाले किसानलाई सहुलियतमा कुटानी पिसानी ( कम्बाइन्ड ) मिल दिएको छ ।
गाउँपालिकाको ८ वटै वडाका किसानलाई बस्ती बाहुल्यता हेरेर ५०% अनुदानमा मिल दिएको गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले बताउनुभयो । घरखर्चो अन्न कुट्न पिस्न भनेर टाढा जानू नपरोस् र किसानलाई सहज, रोजगार साथै आम्दानीका लागि आधुनिक प्रविधिको कम्बाइन्ड मिल हस्तान्तरण गरेको उहाँले बताउनुभयो । गाउँमै कुटानी पिसानी मिल भएपछि विशेष गरि महिला दिदीबहिनीलाई सहज हुने अध्यक्ष कार्कीको भनाई छ ।
पालिकाले किसानबाट माग संकलन गरेर छनौट अन्तर्गत १४ जना किसानलाई ३ लाख १७ हजार ५ सय बराबरको लागत ५० प्रतिशत पालिकाकाे अनुदान सहयोगमा कुटानी पिसानी मिल हस्तान्तरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रन्जिव पन्थीले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष चेत कुमारी थापाले परम्परागत मिलको तुलनामा कम्बाइन्ड मिलबाट सहज छिटो छरितो र टिकाउ हुने गरि काम दिने बताउनुभयो। मिल भन्दै समय खर्चेर परम्परागत मिलमा दिन बिताउन नपर्ने भएपछी पालिकाका महिलाहरुलाई धेरै राहत मिलेको थापाको भनाई छ ।
पालिकाले यस अघि पनि किसानलाई हाते ट्याक्टर, मिनिटिलर,बाझाे जमिन अनुदान कार्यक्रम, घाँस काट्ने मेसिन,उन्नत जातका बीउ विजन वितरण, पाेखरीका लागि प्लास्टिक वितरण गरेको छ ।