‘जिउँदा सहिद’ कायस्थको निधनमा प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
  • CIA Khabar

  • काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘जिउँदा सहिद’मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    दोस्रो जनआन्दोलनका घाइते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का कायस्थको निधन प्रति प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।

    ‘दोस्रो जनआन्दोलनका घाइते  ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

    ३२ बर्सिया कायस्थको उपचारको क्रममा गए राति शिर मेमोरियल अस्पताल बनेपा, काभ्रेमा निधन भएको थियो । उनको आजै अन्त्येष्टि गरिनेछ।

    स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई अस्पतालमा भर्ना गरिएको थियो । घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो ।

    जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उनी बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते भएका थिए ।

  • २८ बैशाख २०८०, बिहीबार १०:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images