मलेसियामा आप्रवासी श्रमिक महिनौँदेखि अलपत्र
  • CIA Khabar

  • दोहा – रोजगारीका लागि मलेसिया पुगेका सयौँ दक्षिण एसियाली आप्रवासी कामदारहरू काम नपाएर महिनौँदेखि अलपत्र परीरहेका छन् ।

    रोजगार एजेन्टहरुले हजारौँ डलर रोजगार भर्ना शुल्क लिए पनि प्रतिबद्धताअनुरूप काम लगाउन नसकेपछि ती कामदारहरू अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

    लामो समयदेखि कामविना अलपत्र परेका आप्रवासीहरू रोजगारी पाउने आशमा राजधानी क्वालालम्पुरबाट ४० किलोमिटर टाढा रहेको विद्यार्थीहरूको एक छात्रावासमा भिडभाडयुक्त कोठामा वा खुला क्याफ्टेरियामा दिन बिताउने गरेको रोयटर्सले जनाएको छ । सन् २०२२ डिसेम्बरमा मलेसिया पुगेका लगभग ५०० आप्रवासीहरूमध्ये धेरैजसो नेपाल र बंगलादेशका युवाहरू रहेको बताइएको छ ।

    ‘तीन महिनाको वर्किङ भिसामा मलेसिया पुगेका उनीहरूको भिसा अवधि थप गर्ने बताइए पनि भिसा थप भएको छैन,’ रोयटर्सको रिपोर्टमा भनिएको छ, ‘अस्पष्ट कानूनका कारण आप्रवासीहरू आफू बसेको ठाउँ छोड्न डराएका छन् ।’ कतिपयले भर्ती एजेन्टहरूले राहदानी आफैँसँग राखेर जागिर दिने वाचा गरिरहेको बताइएको छ ।

    ‘हामी सबै निराश र असहाय छौँ । हामीले पहिले नै कामका लागि ठूलो रकम तिरेका छौँ । यदि जागिर पाइएन भने मैले लिएको ऋण कसरी फिर्ता गर्ने ?,’ छात्रावासमा भेटिएका एक नेपालीको भनाइ उद्धृत गर्दै कुरा रोयटर्सले लेखेको छ ।

    भर्ती एजेन्टहरूको डरले आफ्नो परिचय दिन नमानेका एक २३ वर्षीया नेपालीले मलेसियाली सफाइ कम्पनीसँग दुई वर्षको रोजगार सम्झौतामा हस्ताक्षर गरे पनि काम गर्न नपाएको बताएकी छन् । त्यहाँ पुगेका अरूले जस्तै आफूले पनि ऋण लिएर भर्ती एजेन्टलाई तीन लाख नेपाली रुपैयाँ बुझाएको उनले बताइन् । उनलाई प्रतिमहिना दुई हजार ६२ मलेसि रिंगेट मासिक तलब दिने वाचा गरिएको थियो ।

    रोजगारी सम्झौताअनुसार नै अस्थायी कामदार भिसालाई स्थायी हुने बताइए पनि काम नै नगरी कसरी भिसा समाप्त भयो भन्नेमा स्पष्ट नभएको बताइएको छ । यस विषयमा मलेसिया सरकारले गत महिना अनुसन्धान थालेको थियो ।

    अलपत्र परेका आप्रवासीहरूलाई रोजगारी उपलब्ध नगराउनुको कारण माग गरे पनि भर्ती एजेन्टका रूपमा रहेका पन्याक जुपिटर म्यानेजमेन्ट सर्भिसेज, स्टार डोमेन रिसोर्सेस र एमियल इन्टरनेसनलले कुनै प्रतिक्रिया नदिएको जनाउँदै रोयटर्सले मलेसियाको मानव संसाधन मन्त्रालय र श्रम विभागबाट पनि तत्कालै कुनै प्रतिक्रिया नआएको बताएको छ । तर, मन्त्रालयले बंगलादेश र नेपालका २२६ जना अलपत्र कामदारको छुट्टै एक समूहका लागि रोजगारी खोज्ने वाचा गरेको बताइएको छ ।

    आप्रवासी कामदारहरूलाई मलेसियाको उत्पादन तथा निर्यातमा अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । देशको एक करोड ५० लाख जनशक्तिको लगभग १५ प्रतिशत आप्रवासीले ओगटेको छ । मलेसियाली कम्पनीहरूले हालैका वर्षहरूमा जबरजस्ती श्रम प्रयोगको आरोपमा अमेरिकी प्रतिबन्धको सामना गर्नुपरेको छ । यस्तै मलेसियाले यस वर्ष आफ्नो वृक्षारोपण, निर्माण र निर्माणजन्य उद्योगहरूमा १२ लाख श्रमिकको अभाव भएपछि भर्ती प्रक्रियालाई सहज बनाउँदा आप्रवासी कामदारहरू बढी जोखिममा परेको अधिकारकर्मीहरूले बताएका छन् ।

    ‘यो अहिले ठूलो समस्या हो,’ आप्रवासी अधिकार समूह नर्थ साउथ इनिसिएटिभका कार्यकारी निर्देशक एड्रियन परेराले भनेका छन् । उनको टोलीले मलेसियाभरि करिब एक हजार २०० अन्य कामदारहरू यस्तै दुर्दशामा परेको रिपोर्ट प्राप्त गरेको बताए ।

    क्वालालम्पुरस्थित बंगलादेशी दूतावासले गत महिना मलेसियाले आफ्ना नागरिकहरूलाई रोजगारीमा हुने ठगीबाट जोगाउन थप पारदर्शिताका लागि आह्वान गरेको बताइएको छ । एक बंगलादेशी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा आफ्नो देशका ‘केही सय’ नागरिक रोजगारी नपाएर कामविना मलेसियामा फसेको बताए । यस्तै नेपाली दूतावासले पनि काम नपाएर फसेको थुप्रै गुनासो आएको बताएको रोयटर्सले उल्लेख गरेको छ ।

  • ३१ बैशाख २०८०, आईतवार १२:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images