मुस्लिम समुदायमा शिक्षाको विकास आवश्यक रहेको छ : मन्त्री पाण्डे
  • CIA Khabar

  • दाङ। लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले मुस्लिम समुदायमा शिक्षाको विकास आवश्यक रहेको बताएका छन् ।  मुस्लिम आयोग नेपालले  लुम्बिनी प्रदेशको राजधानीस्थल भालुवाङमा आयोजना गरेको मुस्लिम समुदायका जनप्रतिनिधिहरूको क्षमता विकास तथा सशक्तिकरण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सो कुरा जोड दिएका हुन् ।  मन्त्री पाण्डेले मुस्लिम समुदायमा शिक्षाको विकास बिना अन्य विकास सम्भव नभएको बताउँदै उनले मुस्लिम समुदायहरुले सञ्चालन गरेका धार्मिक विद्यालयहरुलाई प्रदेश सरकार कै लगानीमा व्यवस्थीत गर्ने बताए ।

    मुस्लिम आयोगका सदस्य महमदिन अलिको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै आयोगका सदस्य महमदिन अलिले  मुस्लिम समुदायको विकासका लागि अहिले सम्म निर्माण भएका कानुनहरु सही तरिकाले लागु हुनुपर्ने बताए ।  उनले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले मुस्लिमका सवालमा बनेका सम्पूणर् कानुनहरु लागु गर्न मुस्लिम अगुवाहरुको आवश्यक दबाबको अवस्था आएको बताए ।

    त्यस्तै कार्यक्रमका आयोग आर्का सदस्य मिर्जा अरशद बेगले मुस्लिम समुदाय वा आयोगले सञ्चालन गरेका कार्यक्रमहरुलाई राज्यका जिम्मेवार निकायहरुले बेवास्त गर्ने गरेको बताए । उनले मुस्लिम संघसंस्थाले आयोजना गरेका कार्यक्रमहरुमा उच्च पदस्थ अधिकारीहरु आउन इन्कार गर्ने गरेको आरोप समेत लगाए । उनले राज्यले नै मुस्लिमलाई हेर्ने दृष्टिकोण फरक रहेको समेत बताए ।

    कार्यक्रममा महाराजगञ्ज नगरपालिका कपिलबस्तुका मेयर अब्दुल कलाम, मायादेवी गाउपालिका कपिलबस्तुका अध्यक्ष बसुउद्दिन मुसलमान, खजुरा गाउपालिका-५, बाँकेका वडाअध्यक्ष गरिबे शेष, सोही गाउँपालिका ८, नम्बर वडा अध्यक्ष फिरोज खान र बिजयनगर गाउपालिका-५, का वडा अध्यक्ष अनवर मुसलमान लगायतका बक्ताले मुस्लिम समुदायले सञ्चालन गरेका धार्मिक विद्यालयहरुमा राज्यका तीनै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने निति बनाएर लागु गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले ती विद्यालयहरुमा आवश्यक पूर्वाधार, शिक्षक दरबन्दी र बजेटको व्यवस्था गर्न माग समेत गरेका छन् ।

    कार्यक्रममा दाङ, बाँके, कपिलबस्तु, रूपन्देही र अर्घाखाँचीका जिल्लामा मुस्लिम समुदायबाट निर्वाचित स्थानीय एक सय बढी जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

     

  • १३ असार २०८०, बुधबार १०:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images