एनआरएनए कतारद्वारा विभिन्न कलाकारलाई ११ लाख रुपैयाँ सहयोग
  • CIA Khabar

  • दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले सन् २०२१–२०२३ को कार्यकालमा विभिन्न सांस्कृतिक कार्यक्रममा आबद्ध विभिन्न संस्थाका कलाकारलाई प्रोत्साहन स्वरुप करिव ११ लाख रुपैयाँ प्रदान गरेको छ।

    एनआरएनए एनसीसी कतारले २०१९–२०२१ मा फिफा विश्वकप र कतारको राष्ट्रिय दिवसमा सहभागी कलाकारको प्रस्तुतीबाट आएको केही रकममा एनसीसी कोषबाट थप गरी १५ हजार कतारी रियाल जम्मा भएको थियो । 

    यस्तै सन् २०२१–२०२३ को कार्यकालमा पनि फिफा प्रस्तुतिबाट आएको रकममा थप गरि कतारी रियाल १५ हजार गरी एकमुष्ट गरी ३० हजार रियाल नेपाली १० लाख ८० हजार कलाकार आबद्ध संस्थालाई प्रोत्साहन स्वरुप प्रदान गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

    एनआरएनए कतारद्वारा ईस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल अजाको अवसरमा शुभकामना आदानप्रदान तथा एनसीसी कतारको २०२१–२०२३ कार्यकालको सांस्कृतिक एवं विभिन्न कार्यक्रमहरूमा सहयोग गर्ने सहयोगी, संघसंस्था र कलाकारहरूलाई सम्मान तथा धन्यवाद कार्यक्रम–२०२३ दोहास्थित डिप्लोम्याटिक क्लबमा भव्य रुपमा सम्पन्न भएको अध्यक्ष मुसलमानले बताए ।

    कार्यक्रममा एनआरएनद्वारा कोभिड १९ महामारीमा नेपालमा अक्सिजन सिलिन्डर पठाउनका लागि राखिएको आर्थिक संकलन अभियानमा आर्थिक सहयोग गर्ने व्यक्ति र संघ संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

    यसैगरी फिफा २०२२ विश्वकपलाई सफल बनाउन कतारको सरकारी तथा विभिन्न संयन्त्रहरूले आयोजना गरेको विश्वकप लक्षित विभिन्न कार्यक्रमहरूमा आप्रवासी समुदायको सहभागिता एनसीसीद्वारा प्रस्तुत गरिएका विभिन्न सांस्कृतिक झाँकीसहितको प्रस्तुतिले नेपाली कला र संस्कृतिलाई विश्वसामु चिनाउने कलाकारलाई मायाको चिनो र प्रशंसापत्र दिइएको थियो ।

    एनसीसी कतारको सांस्कृतिक विभागका विभागीय प्रमुख सामयुल सुनुवारको उत्कृष्ट समन्वय र सफल जिम्मेवारी भूमिकाको मूल्यांकन गर्दै कदर पत्रले सम्मान गरिएको थियो । 

  • २३ असार २०८०, शनिबार ०९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images