चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईका कारण उच्च वातावरणीय जोखिम पैदा भएको पाइएको छ । चीनले दिगो विकासको उद्देश्यका साथ बीआरआई अघि सारिएको बताएपनि यसबाट उत्पन्न हुने वातावरणीय जोखिम उच्च रहेको देखिएको हो ।
विश्व अर्थतन्त्रमा आफूलाई महत्वपूर्ण शक्तिको रुपमा आफूलाई उभ्याउनका लागि चीनले दक्षिण एसियासहित विश्वका विभिन्न मुलुकहरुमा भौतिक पूर्वाधारका परियोजना निर्माण गर्न भन्दै ठूलो परिमाणमा ऋण प्रदान गर्दै आएको छ । सोहीअनुसार भारतबाहेक दक्षिण एसियाका मुलुकहरु विभिन्न चरणमा बीआरआईमा संलग्न रहेका छन् ।
चीनले यातायात एवम् ऊर्जाजस्ता भौतिक पूर्वाधारका माध्यमबाट मुलुकको विकास हुने सोच अघि सारेको छ । सोही चिनियाँ मोडलअनुसार चीनले दक्षिण एसियामा पूर्वाधारको विकासमा ऋण लगानी पनि गरेको छ । यद्यपि वातावरणीय प्रभावलाई ध्यान नदिँदा भने यसबाट उच्च जोखिम उत्पन्न भएको छ । कुज्नेत्स कर्भका आधारमा विश्लेषण गर्दा निश्चित मुलुकमा विकासको गति र वातावरणीय प्रभाव समान रुपमा देखिने गर्छ । औद्योगीकरणका कारण उत्पन्न हुने प्रदूषण दक्षिण एसियाली वातावरणको महत्वपूर्ण पक्षका रुपमा देखिएको छ ।
चीनको बीआरआई परियोजनाको महत्वपूर्ण साझेदारका रुपमा दक्षिण एसियाली मुलुकहरु रहेका छन् । चीनको समाजविज्ञान प्रतिष्ठानका अनुसार बीआरआई साझेदार मुलुकहरुमा चिनियाँ पर्यटकको आगमन ७७ प्रतिशतले बढेको छ । बीआरआईमा सहभागी रहेका विभिन्न मुलुकहरुमा सन् २००१ देखि सन् २०१६ सम्म चिनियाँ लगानीमा २४० कोइला प्लान्ट स्थापना गरिएको छ । सहरी क्षेत्रमा प्रदूषणको मात्रा अझ उच्च रहेको छ । दक्षिण एसिया हाल संसारकै सबैभन्दा धेरै प्रदूषित क्षेत्रमध्ये पर्छ । त्यसबाहेक चीन आफैँ संसारको सबैभन्दा ठूलो प्रदूषक मुलुक हो । चीनले सन् २०१८ मा मात्रै १०.०६ मेगाटन कार्बनडाअक्साइड उत्सर्जन गरेको थियो ।
पाकिस्तानमा चीनले निर्माण गरेको चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) परियोजनामा पनि धेरै वातावरणीय एवम् मौसमजन्य जोखिम रहेका छन् । सडकमार्ग निर्माणका लागि पाकिस्तानको अधिनमा रहेको जम्मु कश्मीरको गिल्गिट बाल्टिस्तान क्षेत्रमा ठूलो मात्रामा जङ्गल फडानी गरिएको छ भने काराकोरम राजमार्गमा दैनिक सञ्चालन हुने ७ हजारभन्दा धेरै ट्रकले ३ करोड ६५ लखा टन कार्बन डाइअक्साइड उत्सर्जन हुने गरेको छ । पाकिस्तानका सिन्ध, पञ्जाब र बलुचिस्तान प्रान्तमा निर्माण हुन लागेका परम्परागत कोइला प्लान्टबाट पनि ठूलो मात्रामा प्रदूषण र वातावरणीय जोखिम उत्पन्न हुने चिन्ता छ ।
सन् २०१७ को एक प्रतिवेदनअनुसार सिपेक निर्माणका क्रममा नौसेरा, तल्लो दिर, स्वाबी, मर्दान र मलाकन्द जिल्लाहरुमा ५४ हजार रुख कटान गरिएको छ । औसतमा एउटा रुखले हरेक वर्ष ५० पाउण्ड कार्बनडाइअक्साइड सेचन गर्ने गरेको छ । जङ्गल फडानीका कारण ती जिल्लाहरुमा २७ लाख पाउण्ड कार्बन सेचन हुन नसकेको र यसबाट वायुमण्डलमा प्रदूषण बढ्न थालेको बताइन्छ । वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक त एकातिर छँदै छ, अर्कोतिर वातावरणको हिसाबले पनि जोखिमपूर्ण मानिन्छ ।
पूर्वाधारको खाँचो रहेका गरिब मुलुकमा चीनले प्रदूषण निर्यात गर्ने गरेको आरोपसमेत लाग्दै आएको छ । म्यान्मारमा चीनले निर्माण गरेको माइट्सन जलविद्युत परियोजनाको बाँधका कारण नदीको बहावमा नकारात्मक असर परेको, आप्रवासी माछाका प्रजातिको विलय भएको र २६ हजारभन्दा धेरै हेक्टर बर्षावनमा क्षति पुगेको पाइएको थियो । स्थानीयबासीले ठूलो प्रदर्शनको आयोजना गरेसँगै यस परियोजनाको काम स्थगित गरिएको थियो ।