भूकम्पका घाइतेहरूको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार सुरु
  • CIA Khabar

  • बाँके– जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको नेपालगञ्जका विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचारको व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको बताए । 

    ‘अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’ का रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ ।’

    घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।

    बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

    प्रजिअ पोखरेलका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा  एम्बुलेन्स तैनाथ गरिएको  छ । हाल अस्पतालहरूमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए ।

    भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताए ।

    अस्पतालहरूमा पर्याप्त मात्रामा डाक्टर, नर्सिङ स्टाफ र लजिस्टिकको प्रबन्ध मिलाइएको जनाईएको छ । साथै हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमास्थल र सेनाको हेलिप्याडमा २-२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

    त्यसैगरी ब्लडको मौज्दात रहेको छ भने अपुग भएमा फ्रेश ब्लड आपूर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था समेत मिलाइएको जनाईएको छ ।

    गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

  • १८ कार्तिक २०८०, शनिबार १०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images