काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए ।
प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाए । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको दाबी थियो ।
उनले भने, ‘सरकारले बजेट ल्याउँदा प्राथमिकतालाई तिलाञ्जली दियो । यहाँ खानेपानीको अत्यन्त समस्या छ । तपाईदेखि पहाडसम्म नै समस्या छ । पानीका स्रोतहरु सुकेका छन् । अब खानेपानीमा पहिला २८ अर्ब थियो, अहिले २६ अर्ब बजेट राखिएको छ । सम्पूर्ण रकम अर्थ मन्त्रालय, शहरी मन्त्रालयमा र केही चाँहि भौतिक मन्त्रालयमा केन्द्रित गरिदिनुभयो । कानून मन्त्रालयमा ७७ करोडबाट ५४ करोडमा झारिदिनु भयो । यसरी विनियोजन गरिएको छ, जुन ठिक छैन ।’
प्रवक्ता महतले आन्तरिक ऋणको भरमा बजेटको आकार बढाउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।