काठमाडौं । नेपाल चलचित्र कलाकार संघले टिभी कार्यक्रम ‘इट्स माइ शो’ मा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा अरुको मानमर्दन गर्नु हुँदैन भन्ने सामान्य मान्यतालाई उक्त अभिव्यक्तिले लत्याएको बताएको छ ।
उक्त टेलिभिजन कार्यक्रमको प्रस्तुति र त्यस कार्यक्रममा सहभागी कलाकारले दिएको अभिव्यक्ति अमर्यादित, अशोभनीय र गैरजिम्मेवारपूर्ण भएको संघको ठहर छ ।
‘उक्त कार्यक्रममा सहभागी कलाकारको अभिव्यक्तिले नेपाली चलचित्र क्षेत्र, कलाकारिता पेशा , वर्ग र सामाजिक दायित्वमा आघात पुगेको हाम्रो ठहर छ,’ संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ एउटा सार्वजनिक कार्यक्रम मार्फत अरुको अपहेलना गर्नु, मानमर्दन गर्नु न्यायसंगत ठहर्दैन र हुँदैन पनि ।
संघले यसअघि पनि केही कलाकारले सामाजिक मर्यादा र अनुशासन विपरीत आचारसंहिता पालना नगरी अभिव्यक्ति दिएकोमा संघले सचेत गराएको समेत उल्लेख गरेको छ ।