पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
  • CIA Khabar

  • म्याग्दी– पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

    पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएपछि यात्रुले सास्ती खेप्नु परेको छ ।

    पहिरोका कारण बेनीबाट दरबाङतर्फ जाने सवारीसाधन र दरबाङदेखि बेनीतिर जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

    उक्त सडक खण्डको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भीर, मालिका गाउँपालिका–६ को बाङ्गेभीर र मङ्गला गाउँपालिका–२ को लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

    उक्त सडकखण्डलाई म्याग्दीको ‘लाइफलाइन’का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ । फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिरोले सताइरहने सो सडकखण्डमा लाम्पाटा रणबाङ क्षेत्रमा नयाँ पहिरो झर्न सुरु भएको स्थानीय टेकनाथ सुवेदीले बताए ।

    करिब १८ वर्षअघि सडक खन्नु अघि नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।

    धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको रणबाङका हरिकृष्ण पौडेलले बताए ।

    ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ । यात्रु घुमाउरो बाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता छ ।

  • २६ श्रावण २०८१, शनिबार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images