काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सिताराम काफ्लेले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउनका लागि सहकारीको मोडल अवलम्बन गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको तेस्रो सेसनमा बोल्ने वक्ताहरुले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
मुक्तिनाथ कृषि कम्पनीका प्रमुख काफ्लेले भने, “कृषिमा सफलताको लागि सहकारीको मोडलबाट नेपालको कृषि अर्थतन्त्र अगाडि बढाउने हो भने संस्थागत रुपमै नेपालको कृषि क्षेत्रको समस्या समाधान हुन्छ ।”
मुक्तिनाथ कृषि मोडल त्यसै अनुसार अगाडी बढेकोसमेत उनले जानकारी गराएका छन् । उनले थपे, “नेपालको अर्थतन्त्रको जग नै कृषि पेशा हो । देशको धेरै जनसंख्या कृषिमा संलग्न छन् । जुन सानो वा ठूलो परिवार कृषि पेशामा समाहित भएर नै जिवीकोपार्जन गरिरहेका छन् । देशभर भएका सहकारीको कारण यो पेशामा लाग्ने व्यसायिकरुपमा सफल भएका र असफल भएको उदाहरण छ । कृषिलाइ रुपान्तरण गर्नको लागि संस्थागत हुनुपर्छ । जसका लागि पब्लिक कम्पनीको व्यवस्थापन हुनुपर्छ ।”
त्यसैगरी हाइलाइफ अग्रो फुड इन्ड्रस्ट्रीज्का प्रमुख अम्बिका पौडेलले कांग्रेसले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै अहिलेको कृषि अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न सके मात्र औद्योगिकरणमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताए । त्यसका लागि कृषिमा काम गर्ने व्यावसायीहरुलाई बिश्वास गर्नुपर्ने पनिसमेत उनले बताएका छन ।
उनले थपे, “जबसम्म उत्पादन गर्ने निकाय र जिम्मा लिने निकायले कृषिलाइ महत्वको साथ हेर्दैन तबसम्म किसानले मूल्य नपाउने समस्या रहिरहन्छ । कृषि क्षेत्रमा सप्लाइ चेन गर्न नसक्ने हो भने कृषि क्षेत्रमा रिफर्म सम्भव छैन ।”
कृषकका समस्या समाधान गर्नका लागि राज्यले राम्रो पोलिसी निर्माण गर्ने हो भने नेपालमा कृषि क्षेत्र कायापलट हुने र अर्थतन्त्र पनि बलियो बनाउन सकिने अग्रो फुड इन्ड्रस्ट्रीज्का प्रमुख पौडेलको राय छ ।
त्यस्तै काठमाडौ विश्वविद्यालयका प्राध्यापक भिम श्रेष्ठले नेपालका धेरै युवाहरु कृषिमै काम गर्नका लागि बाहिर जाने प्रतिष्पर्धा गर्नु चिन्ताको बिषय भएको बताएका छन् । उनले थपे, “अथाह सम्भावना भएको नेपालमा कृषि पेसाको सम्मान नहुनु, कृषि गर्नका लागि राज्यले व्यावसायिक वातावरण निर्माण गर्न नसक्नु प्रमुख समस्या देखिन्छ ।”
उनले पोलिसी निर्माण गर्दा कम्तिमा २० बर्ष रिफर्मको यात्रा तय गर्न सक्नुपर्ने उनको तर्क छ ।
नेपालको वातावरणीय क्षेत्रलाई आत्मसाथ गरेर अध्ययन अध्यापनको थलो बनाउन सकियो भने पनि नेपालवाट प्राविधिक शिक्षा दिएर विद्यार्थी पठाउन सकिनेसमेत उनले बताए ।
घरेलु अथा सना उद्योग महासंघका उपाध्यक्ष सान्ता बास्कोटा कोइरालाले नेपालको कृषि क्षेत्रको सम्भावनालाई उत्पादन र बजारीकरणको मापदण्ड बनाउनको लागि उत्पादनकर्ताले मात्र नसक्ने बताएकी छन् ।
उनले भनिन्, “त्यसका लागि बजारीकरण गर्नका लागि सहजीकरण गर्ने निकायले भूमिका खेल्दछ । त्यसका लागि सरकारले न्युनतम मूल्य तोक्नै पर्छ । न्यूनतम् मूल्य तोक्दा उत्पादनकर्ता पनि घाटामा जानु पर्दैन ।”
अहिले हामी ३२ ओटा वस्तुमा आत्मनिर्भर भएको भन्ने उद्योग मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बुधबारदेखि सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलन बिहीबार बेलुका सम्पन्न हुनेछ ।