१३ फाल्गुन २०८१, बुधबार
काठमाडौं– महाशिवरात्रि हिन्दू धर्मका प्रमुख पर्वहरुमध्येको एक हो। शिवका उपासकहरु हरेक वर्ष आफ्ना आराध्य देव शिवको विशेष आराधना गर्नको लागि यसै दिनको प्रतीक्षा गर्ने गर्छन्। हिन्दू पञ्चाङका अनुसार फागुन महिनाको कृष्ण पक्ष चतुर्थीका दिन पर्ने शिवरात्रीका दिन शिवालयहरुमा शिवलिंगमा जल, दूध र वेलपत्र चढाएर शिवको पूजा गर्ने गरिन्छ। यसो गर्दा शिव खुसी हुने र पूजा गर्नेलाई महादेवको विशेष कृपा मिल्ने विश्वास गरिन्छ। भोलेनाथ समेत भनिने शिव आफ्ना भक्तहरुसँग चाँडै प्रशन्न हुने र सामान्य पूजाबाट पनि शिवकृपा पाइने विश्वास गरिन्छ।
हरेक महिनाको कृष्ण पक्षको चतुर्दशीको दिन आउने रात्रीलाई शिवरात्रि पनि भनिन्छ तर फागुन महिनाको कृष्ण चतुर्दशीको दिनमा आउेन शिवरात्रिलाई चाहिँ महाशिवरात्रि भनिन्छ। यस वर्षको शिवरात्रि फागुन १४ गते (२४ फेब्रुअरी २०२५) मा परेको छ।
शिवरात्रि मनाउने सन्दर्भमा मुख्यतया तीन मान्यता प्रचलित छन् ।
पौराणिक मान्यताका अनुसार महाशिवरात्रिकै दिन शिवजी पहिलो पटक प्रकट भएका थिए। त्यस मान्यताअनुसार शिवजी अग्नि ज्योतिर्लिङ्गको रुपमा प्रकट भएका थिए। उक्त ज्योतिर्लिङ्गको आदि वा अन्त्य छैन। शिवको यो ज्योतिर्लिङ्ग रुपबारे जान्न ब्रम्हाजीले हाँसको रुप धारण गरेर आकाशतिर र भगवान् विष्णुले बँदेलको रुप धारण गरेर पातालतिर गए। तर उनीहरू शिवको आदि र अन्त्य रूप फेला पर्न सकेनन्।
महाशिवरात्रिकै दिन विभिन्न स्थानहरुमा शिवका ६४ ज्योतिर्लिङ्गहरु उत्पत्ति भएका थिए। हाल १२ ज्योतिर्लिङ्गबारेमा मात्रै मानिसहरूलाई थाहा छ। १२ ज्योतिर्लिङ्गहरुमध्ये एक भारतको केदारनाथ पनि हो। केदारनाथको शिर काठमाडौंको पशुपतिनाथलाई मानिन्छ। त्यसैले पनि शिव उपासकहरूका लागि पशुपतिनाथको विशेष महत्त्व छ।
महाशिवरात्रिको रातमा नै भगवान शिवशंकर र माताशक्तिको विवाह सम्पन्न भएको मान्यता पनि छ।
उपासकहरूले शमीको पात, वास्नादार फूलहरु, वेलपत्र, धतुरो, भांग, बेल, आम्रमन्जुरी, जौको बाला, तुलसीको दल, गाईको काँचो दूध, उखुको रस, दही, घीउ, मह, गंगाजल, जल, कपूर, धूप, दियो, रुवा, चन्दन, पञ्चफल, पञ्चमेवा, पञ्चरस, सुगन्ध, जनै, पञ्चमिठाई, शिव र पार्वतीको शृंगारका सामग्रीहरु, दक्षिणालगायतका सामग्रीका साथ शिवपार्वतीको पूजा गर्छन्।
शिव, शिवरात्रि र मृगको सम्बन्धबारेको कथा
प्राचीन कालमा चित्रभानु नाम गरेका शिकारी थिए। जनावरहरुलाई मारेर परिवार पाल्नु उनको जीवनचर्या थियो। उनले साहुसँग कर्जा लिएका थिए। तर बेलामा चुक्ता गर्न सकेनन्। त्यसपछि रिसाएका साहूले एकदिन उनलाई शिवमठमा बन्दी बनाएर राखेका थिए।
शिवरात्रिका दिन बन्दी अवस्थामा रहेका शिकारीले ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुराहरु सुने।
बेलुकी साहुले फेरि उसलाई ऋण चुक्ता गर्नेबारे कुरा गरे। शिकारीले भोलिपल्ट सबै ऋण चुक्ता गर्ने शर्तमा मुक्ति पाए।
भोकले आकुलव्याकुल शिकारी शिकारको खोजीमा जंगल गए। दिनभर कोशिश गर्दा पनि उनले शिकार फेला पार्न सकेनन्। शिकारकै खोजीमा घरबाट निक्कै टाढा पुगिसकेका थिए। अन्धकार भइसकेको थियो। त्यसैले एउटा पोखरी नजिकको रुखमा चढेर रात बिताउने सुर गरे।
उनी चढेको रुख बेलको रुख थियो। त्यो रुखको फेदमा पातले ढाकिएर शिवलिंग छोपिएको थियो। रुखमा बस्न आफूले ठाउँ बनाउँदा उनले थाहा नपाइकनै केही पात झरेर शिवलिंगमा परिरहेका थिए।
एक पहर रात्रि भएपछि एउटा गर्भवती मृगिणी पोखरीमा पानी पिउन आइन्।
शिकारीले धनुषमा तीर हालेर प्रहार गर्न खोजेका मात्र के थिए, मृगिणीले भनिन्, ‘म गर्भवती छु। चाँडै बच्चा पाउने छु। तिमी एकै साथ दुईट जीवनको हत्या गर्दैछौं, यो ठीक होइन। म बच्चा पाउनेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु। त्यसपछि तिमीले मलाई मार।’
ती मृगिणीको कुराले शिकारी अलमलमा पर्यो। उनले त्यो मृगलाई जान दियो। त्यो क्रममा उनको धनुषले लागेर केही बेलपत्रहरु खसेर तल शिवलिंगमा पर्यो। नजानिँदो ढंगले शिकारीको पहिलो प्रहरको पूजा सम्पन्न भएको थियो।
केहीबेरपछि अर्को मृग त्यहाँ देखपर्यो। शिकारी खुसीले गदगद बन्यो। जसै त्यो मृग रुख नजिक आइपुग्यो, शिकारीले धनुवाण ताक्यो। त्यो देखेर मृगले भन्यो, ‘हे शिकारी, म आफ्नी प्रियको खोजमा भौंतारिइरहेकी छु। म आफ्ना पतिलाई भेट्नेबित्तिकै तिमीसमक्ष हाजिर हुनेछु।’
मृगको कुरा सुनेर शिकारी पुनः अलमलमा पर्यो। त्यतिखेर रात्रिको आखिरी प्रहर थियो। शिकारीले त्यो मृगलाई पनि जान दियो। अघिल्लो पटकमा जस्तै यस पटक पनि धनुष तान्दा र राख्दा केही बेलपत्र खसेर शिवलिंगमा पर्यो। उसको दोस्रो प्रहरको शिवपूजन पनि नजानिकनै सम्पन्न भयो।
केही बेरमा अर्को एउटा मृग आफ्ना बच्चाहरुलाई लिएर त्यहाँ देखापर्यो। यो शिकारीको लागि स्वर्णिम अवसर थियो। उनले धनुषमा वाण चढाएर जसै हान्न खोज्यो, मृगले भन्यो, ‘हे शिकारी म यी बच्चाहरुलाई यिनको पितालाई जिम्मा लगाएर आउँछु। मलाई नमार।’
त्यो सुनेर शिकारी हाँस्यो र भन्यो, ‘बल्लबल्ल फेला परेको शिकार कसरी छोडूँ ? म त्यस्तो मुर्ख छैन। यसअघि पनि दुई पटक शिकार गुमाइसके। मेरा बच्चाहरु भोकले तड्पिइरहेका होलान्। म तिमीलाई मार्छु।’
त्यो सुने मृगले भन्यो, ‘हे शिकारी! जसरी तिमीलाई तिम्रा बच्चाको ममताले सताइरहेको छ, त्यसरी नै मलाई पनि सताइहेको छ। त्यसैले हे शिकारी! मलाई विश्वास गर, म यी बच्चाहरुलाई यिनका पितालाई जिम्मा लगाएर तुरुन्तै फर्कने प्रतीज्ञा गर्छु।’
मृगको कुरा सुनेर शिकारीमा दया जाग्यो। उसले त्यो मृगलाई पनि जान दियो। भोकको सुरमा व्याकुल शिकारीले बेलको पात टिप्दै तल फ्याँक्दै गयो। बिहान हुनै लाग्दा एउटा मोटोघाटो मृग त्यहीबाटो भएर आयो। यस पटक पनि उनले घनुषमा वाण चढाएर हान्नै आटेका थिए, त्यो मृगले भन्यो, ‘हे शिकारी! तिमीले यसअघि यताबाट गएका मृग र तिनका ससाना बच्चाहरुलाई मारेका हौ भने मलाई पनि तुरुन्तै मार। ताकि मैले उनीहरुको वियोग सहनु नपरोस्। म ती तीन मृगका पति र ती बच्चा मृगहरुको पिता हुँ। तिमीले उनीहरुलाई मारेका छैनौ, जीवनदान दिएका छौ भने मलाई पनि केही बेरको लागि जीवनदा देऊ, म उनीहरुलाई भेटेर आफैं तिमीसमक्ष उपस्थित हुनेछु।’
त्यो सुनेर शिकारीको दिमागमा अघिल्ला घटनाक्रमहरु झल्झली आए। उनले सबै कथा मृगलाई सुनाए। त्यो सुनेर मृगले भन्यो, ‘मेरा तीनवटै पत्नीहरु जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युबाट उनीहरुले आफ्नो धर्मको पालना गर्न सक्ने छैनन्। अतः जसरी तिमीले उनीहरुलाई विश्वास गरेर छाडिदिएका छौ, मलाई पनि छाडिदेऊ। म उनीहरुलाई सबैलाई लिएर तिमीसमक्ष चाँडै उपस्थित हुनेछु।’
मृगको त्यो टीठलाग्दो कुरा सुनेर शिकारीलाई दया लाग्यो। उनले त्यो मृगलाई पनि जान दियो।
बिहान भयो। उपवास, रात्रि जागरण तथा शिवलिंगमा बेलपत्र चढाएका कारण नजानिकनै शिकारीले शिवरात्रिको पूजा गरे। उनले अनजानमा गरेको त्यो पूजाको फल पनि तत्कालै प्राप्त भयो। उनको हिंस्रक मन निर्मल भयो। उनमा भगवानको शक्तिको वास भयो।
केही बेरमै त्यो भाले मृग सपरिवार शिकारी समक्ष उपस्थित भयो र आफूहरुलाई मार्न अनुरोध गर्यो। जंगली पशुहरुमा त्यस्तो सत्यता, सात्विकता र सामुहिक प्रेम भावना देखेर शिकारीलाई अति ग्लानि भयो। उसले त्यो मृगको परिवारलाई जीवनदान दिए।
अनजानमै शिवरात्रिको ब्रतको पालना गरेका कारण शिकारीलाई मोक्ष प्राप्त भयो। उनको मृत्युकालमा यमराजका दूतहरु आएका थिए। त्यसैबेला शिवका दूतहरु पनि आएर यमदूतहरुलाई रोके। उनीहरुले त्यो शिकारीलाई सशरीर शिवलोक गरे।