काठमाडौं । नेपालको पर्यटन व्यवसायलाई विश्वभर प्रबर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले जर्मनीमा बर्लिनमा सुरु भएको आईटीबी बर्लिनमा नेपाल पभेलियन स्थापना गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका छन् ।
नेपाल पर्यटन बोर्डले नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन आईटीबी बर्लिन-२०२५ मा २८ प्रतिष्ठित एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिंग, र प्रिमियम आतिथ्य सेवाजस्ता पर्यटन व्यवसायीहरुको सहभागिता गराएको छ। नेपाल पभेलियनको उद्घाटन समारोहमा मन्त्री पाण्डेले नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्दै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रबर्द्धन गरिने बताएका छन् । नेपाल पभेलियनको उद्घाटन समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत नेपाल र विभिन्न देशमा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।
नेपाल पर्यटन बोर्डले नेपाललाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्ने उद्देश्यले देशका अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटकीय क्षेत्र, समृद्ध सांस्कृतिक धरोहरलगायतका क्षेत्रहरुलाई नेपाल पभेलियनमा प्रस्तुत गरिनेछन् । नेपालको पर्यटन प्रबर्द्धनका लागि आईटीबी बर्लिन-२०२५ एक बृहत अन्तर्राष्ट्रिय यस मञ्च भएको उल्लेख गर्दै नेपालको दिगो पर्यटन प्रतिबद्धतालाई विश्वसामु प्रस्तुत गर्ने अवसरमा रुपमा सदुपयोग गरिने मन्त्री पाण्डेले बताएका छन् ।
आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रबर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले विश्वास व्यक्त गरेका छन् । यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ । यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकहरुसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ ।
सन् १९९६ बाट सुरु भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो । आईटी बर्लिन-२०२५ मा विश्वभरका १८० देशबाट १० हजारभन्दा बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहनेछ । नेपालले आईटीबी बर्लिन निरन्तर सक्रिय सहभागिता जनाउँदै आएको छ र यस मञ्चलाई नेपालका हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटन जस्ता विशिष्ट अनुभवहरूलाई विश्वभर चिनाउनको लागि सदुपयोग गर्दै आएको छ।