काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका नेताहरुको रिहाइको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाइ नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए ।
पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताए ।
‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो, उनले भने, प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवलशम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले भने ।
‘हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणालगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नुपर्दछ’, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने ।
पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीमा महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुनसुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह रहेका थिए । त्यसैगरी, वरिष्ठ केन्द्रीय सदस्यहरु जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, युवा नेता राजु लोहनी पनि उक्त टोलीमा सहभागी थिए ।