गगन-शेखरबीच बोलचाल बन्द
  • CIA Khabar

  • काठमाडौं । कुनै समय ‘तपाईंकै उत्तराधिकारी हुँ’ भन्दै डा शेखर कोइरालालाई आश्वस्त पारेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गएको गत वर्षको असारयता उनीसँग भेटेका छैनन् ।

    जबकि ९ महिनाको यस अवधिमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँगको सम्बन्ध धेरै निकट बनाइसकेका छन् ।

    गगन–शेखरबीच पार्टी बैठकमा भेट हुँदा गर्ने ‘हेलो, हाइ’ बाहेक थप कुराकानी र हार्दिकताको संकेत देखिएको छैन ।

    अघिल्लो महाधिवेशनमा एउटै प्यानलबाट क्रमशः सभापति र महामन्त्रीका उम्मेदवार बनेका शेखर–गगनबीच खटपट सुरु भएको गत संसदीय दलको नेताको चुनावबाट हो । २०८१ असार ३१ यता भने उनीहरूबीच झन्डै पानी बाराबारकै अवस्था आइपुगेको दुवैतर्फका नेताहरू बताउँछन् ।

    मन्त्री छनोटबाट मनमुटाव

    असार १७ गते कांग्रेस–एमाले गठबन्धन बन्ने सहमति भयो । ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए । दुई दलको सहमतिअनुसार मन्त्री छनोटको कसरत जारी थियो ।

    मन्त्री छनोटको विषयमा शेखर–गगनबीच विवाद बढ्यो । ओली नेतृत्वको सरकारमा कांग्रेसले एक राज्यमन्त्रीसहित ११ मन्त्रालय पाउने सहमति थियो । सोहीअनुसार शेखर–गगन समूहले चार मन्त्रालय पाउनुपर्ने अडान राख्यो । तर, सभापति देउवाले ८ मन्त्रीको नाम टुंग्याए । शेखर–गगन छलफलमा बसिरहँदा उनीहरूबीच पनि आफूनिकट कसलाई मन्त्री बनाउने भनेर खिचातानी चल्यो ।

    असार ३१ गते प्रधानमन्त्रीको शपथ हुने र मन्त्रीहरू पनि त्यहाँ उपस्थित हुने भनिएपछि कांग्रेसमा मन्त्री छनोटको दबाब झन् बढिरहेको थियो । बाँकी मन्त्री छनोटमा शेखर–गगनबीच भाग लगाउनुपर्ने अवस्था आयो । उनीहरूको समूहबाट प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी मन्त्री बने। त्यसखबत शेखर एक्लैले ४ मन्त्री मागेका थिए, पाए २ वटा । बद्री र रामनाथ उनको सिफारिसमा मन्त्री बन्दा गगनको कोटामा प्रदीप मात्र भए । यसले दूरी झनै बढायो ।

    शेखरले बोलाउँदा गएनन् गगन

    असार ३१ बाट सम्बन्धमा थप दूरी बढाएका शेखर–गगनबीच त्यसयता एक्लाएक्लै छलफल भएको छैन । अन्तिमपटक २०८१ चैत १० शेखरले गगनलाई आफ्नो सचिवालय बालुवाटारमा छलफलका लागि बोलाए । तर, गगन गएनन् ।

    शेखर पक्षका एक नेता भन्छन्, ‘चैत १० गते लोकतान्त्रिक अपांग संघको महाधिवेशन विवाद र सर्लाही कांग्रेसको विवादबारे छलफल बालुवाटारमा बोलाइएको थियो । तर, काठमाडौँमै हुनुभएका महामन्त्री आउनुभएन ।’

    त्यसअघि शेखरले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न माघ २८ गते पनि बैठक राखेका थिए । उक्त बैठकमा पनि गगन गएनन् । गगननिकट नेताले पहिल्यै काठमाडौं बाहिरको कार्यक्रममा गएकाले बालुवाटार बैठकमा सहभागी नभएको बताए । उक्त दिन शेखरले पदाधिकारी र पूर्वप्रहरी प्रमुखसँग प्रहरी विधेयकबारे छलफल गरेका थिए ।

    ‘भोलि बिहान कार्यक्रम छ, राति ९ बजेतिर फोन गरेर छलफल राखिएको छ, आउनुपर्यो भनेपछि जान सक्ने अवस्था भएन,’ गगननिकट नेता भन्छन्, ‘कम्तीमा एक दिनअघि खबर आए पो जान मिल्छ । भोलिपल्ट अर्कै कार्यक्रम तय भइसकेको हुन्छ । पार्टीको महामन्त्री हो, कार्यक्रमको सेड्युल त तय भइसकेको हुन्छ नि ।’

    गगनको कूटनीतिक जवाफ

    उनीहरूबीच हार्दिकता नभएको चर्चाबीच २०८१ माघ २३ गते पोखरामा भएको पार्टीको प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीको घेरामा परेका थिए, गगन थापा । उनले १५ औँ महाधिवेशनसम्म आफू शेखरकै गुटमा रहेको बताए । तर, महामन्त्रीको रूपमा भने आफूले सबैको हुने कोसिस गरिरहेको प्रतिक्रिया दिए ।

    ‘महामन्त्रीको रूपमा मैले सबैको हुने कोसिस गर्नुपर्छ । जब समूहको कुरा आउँछ, १५औँ महाधिवेशनसम्म शेखर कोइराला र म एकै ठाउँमा छौँ । मचाहिँ त्यहीँ छु । म जहाँ छु शेखर कोइराला डाक्टरसाप पनि हुनुहुन्छ भन्ठान्छु । रहने कि नरहने भन्ने कुरा आ–आफ्नो व्यक्तिगत छनोटका भए,’ उनले भनेका थिए ।

    गगनको यस भनाइले पनि दुई नेता एक ठाउँमा नभएको संकेत गर्छ । उनले शेखर कोइरालालाई आफूले आज पनि नेता मानेको र भोलि पनि मानिरहने बताए ।

    गगनको थप तर्क थियो, ‘उहाँ (शेखर) आज पनि नेता हुनुहुन्छ । भोलि पनि रहनुहुन्छ । पार्टीभित्र उहाँको नेतृत्वमा १४औँ महाधिवेशनमा म प्रतिस्पर्धा गरेको हुँ ।’

    दुवै सभापतिका उम्मेदवार !

    १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहविरुद्ध लड्न शेखर–गगन एकै ठाउँमा उभिए । शेखर सभापतिको उम्मेदवार भए भने गगन महामन्त्रीको । एकै समूहबाट उम्मेदवारी दिएका शेखर दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित हुन पुगे भने गगन पहिलो चरणमै उल्लेख्य मत ल्याएर महामन्त्री निर्वाचित भए ।

    चुनाव हारेपछि पनि शेखर महाधिवेशनअघिकै जसरी जिल्ला दौडाहालाई तीव्रता दिइरहेका छन् भने पछिल्लो समय जिल्ला(जिल्लामा पुग्न गगनलाई पनि भ्याइनभ्याइ छ । शेखरले सार्वजनिक रुपमै १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भनेर घोषणा गरेर लागिरहेका छन् भने गगन अभिव्यक्ति नदिई जिल्ला तहका नेता कार्यकर्ताको राय लिइरहेका छन् ।

    गगननिकट अर्का नेता अब दुई नेता एक ठाउँमा हुने सम्भावना नभएको दाबी गर्छन् ।

    ‘उहाँहरू अब एक भएर फरक पदमा चुनाव लड्ने सम्भावना देखिएन,’ उनले भने, ‘अब दुवैजना एकै पद त्यो पनि सभापतिमै भिड्ने गरी तयारी गरेको देखिन्छ ।’

    के भन्छन् राजनीतिक विश्लेषक ?

    राजनीतिक विश्लेषक जैनेन्द्र जीवन शेखर–गगन देउवाविरुद्ध उत्रिनुपरेको अवस्थामा एक ठाउँमा भएको तर अहिले दुवै प्रतिस्पर्धामा उत्रिने अवस्थामा पुगेको बताउँछन् ।

    उनीहरू प्रतिस्पर्धी कसरी बन्न पुगे भन्ने प्रश्नमा उनले भने, ‘पहिले देउवाविरुद्ध जाने समीकरण बन्यो उनीहरूको विचार र योजना मिल्यो त्यहीअनुसार गए । देउवा फेरि चुनाव लड्न नपाउने कानुनी व्यवस्था प्रावधानपछि उनीहरू आफैँ प्रतिस्पर्धी बन्न पुगे ।’

    उनले पार्टीमा अहिले पनि सभापति देउवाकै पल्लाभारी रहेको दाबी गर्दै शेखर–गगन दुवै देउवाको साथ लिने दाउमा भएको बताए ।

    ‘पार्टीमा देउवाले कसलाई साथ दिन्छन् भन्ने चासो छ । अहिले गगन देउवासँग नजिक छन् भनिएको छ । शेखर पनि उनीसँग नजिक हुने सम्भावना उत्तिकै छ,’ उनले भने, ‘तर मेरो समर्थन यही भनेर देउवाले मुख खोल्नु भएको छैन । मुख खोलेपछि थप प्रष्ट भइहाल्ला ।’

  • २ बैशाख २०८२, मंगलवार १७:४७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images