काठमाडौं — नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार तथा सुदृढीकरणका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको संयोजकमा पूर्वगभर्नर डा. रेवतबहादुर कार्की रहनेछन्।
कार्यदलमा पूर्वबैङ्कर भुवनकुमार दाहाल सदस्यका रूपमा र राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य–सचिवका रूपमा रहने छन्। कार्यदललाई एक महिनाभित्र सुझाव प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
राष्ट्र बैङ्कका अनुसार कार्यदललाई बैङ्किङ नीतिलाई उदार तर विवेकपूर्ण (प्रुडेन्सियल) बनाउने, जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण प्रणाली विकास गर्ने र ग्राहकमैत्री सेवामा सुधार ल्याउनेबारे सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।
त्यस्तै, ग्रामीण क्षेत्रमा कर्जा प्रवाह विस्तार, गाभ्ने वा प्राप्ति प्रक्रियामा उत्पन्न हुने समस्या समाधान, आर्थिक गतिविधि पुनःसञ्चालनमा बैङ्किङ क्षेत्रको भूमिका तथा नेपाललाई ‘ग्रे लिस्ट’ बाट हटाउन आवश्यक सुधारमूलक उपायबारे पनि कार्यदलले सुझाव दिनेछ।
पुँजीबजारको विकासमा केन्द्रीय बैङ्कको समन्वयात्मक भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा समेत कार्यदलले सिफारिस पेश गर्नेछ।