वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क रकम अपचलनमा मुछिएका छविलाल जोशीले आफ्नो हस्ताक्षर कीर्ते भएको बयान दिएका छन्। आफू अमेरिका प्रस्थान गरेपछि आफ्नो हस्ताक्षर कीर्त भएको बयान प्रहरीमा दिएका हुन्।
यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा आइतबार वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा मुद्दा दर्ता भएको छ। जसमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ।
जोशीले प्रहरीसामु बयानका क्रममा गितेन्द्रबाबु (जीबी) राई र लामिछानेलाई पोलेका छन्। बैङ्कबाट कर्जा लिन लामिछाने र राईले आफ्नो घर समेत धितो राख्न थालेपछि तीन महिनामै कम्पनीबाट आफू अलग भएको दाबी उनले गरेका छन्।
प्रतिवादी छविलाल जोशीको बयानः
गोर्खा मिडिया नेटवर्क प्रा.लि.को नाउँमाग्लोबल आईएमई बैंकमा संचालनमा रहेको ००४०१०१००००५७७ नम्बरको खाताको केवाईसी फारम र दस्तखत नमुना मेरो हो। उक्त कम्पनीको दैनिक आर्थिक कारोवार वापतको रकम पूर्णरुपमा गितेन्द्रबाबु राई र रवि लामिछानेले गर्ने गर्नु भएको थियो।
उक्त कम्पनी तथा सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच कुनै सम्वन्ध सरोकार रहेको मलाई जानकारी छैन, म समेत संस्थापक भई मिति २०७७।०५।१४ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि. दर्ता गरी सञ्चालनमा ल्याउने क्रममा रवि लामिछाने समेतको सहकार्य रहेको थियो। आर्थिक कारोवारको सम्पूर्ण जिम्मेवारी र दायित्व गितेन्द्रबाबु राईको रहेको हुँदा कम्पनीको खाताबाट रकम भुक्तानी को-कसलाई र किन दिने भन्ने विषय पनि निजमै निर्भर रहन्थ्यो।
कम्पनीको शेयर वृद्धी गरी बैंकबाट कर्जा लिने भन्ने बिषयमा गितेन्द्रबाबु राई र रवि लामिछानेले मेरो घर धितो राखे समेतको कार्य गर्न लागेपछि र कम्पनी सञ्चालन गर्दा मलाई धेरै कुराबाट बाईपास गरी मेरो जानकारी विना कामहरू हुन लागेको कारण गितेन्द्रबाबु राई र रवि लामिछानेको काम, व्यवहारसँग मेरो तिक्तता र असहमति हुन गई मैले उक्त कम्पनी स्थापनाको करिव ३ महिना नबित्दै छाड्ने निर्णय गरी सो कुरा निजहरूलाई जानकारी गराउँदा गितेन्द्रबाबु राईले कम्पनीमा तपाईको कुनै रकम लगानी छैन र यस पछि पनि पर्दैन। हामीले यति ठुलो टि.भि. (Galaxy 4K Television) सञ्चालनमा ल्याउन लागेका छौं, यसमा हजुरको असहयोगले गर्दा काम रोकिन सक्छ बरु हजुरले नितिगत काममा सहयोग गर्नुस् त्यसपछि हजुर अलग हुनुहोला भनि मसँग अनुरोध गरेको कारण कम्पनीको पूँजी वृद्धी गर्ने सम्मको निर्णय गर्ने बैठकमा उपस्थिति जनाई कम्पनीलाई काम गर्ने वातवरण सृजना गरी आफू कम्पनीमा कुनै पनि दायित्वमा नरहने गरी अलग हुन्छु भनि राजिनामा सहितको सवै कागजपत्रहरू निजलाई बुझाई मिति २०७७।०७।०३ (ई.सं.२०२०-१०-१९) गते वैदेशिक भ्रमणको लागि अमेरिका प्रस्थान गरेको हूँ, जुन कुरा मेरो Travel Historyबाट समेत खुल्छ।
मिति २०७७।०९।०३(२०२०-१२-१८) गते नेपाल फर्केपछि गोर्खा मिडियामा आफ्नो शेयर कायम नै रहेको र म अमेरिका गएको भोलीपल्ट मिति २०७७।०७।०४ गते मेरो हस्ताक्षर किर्ते गरी कम्पनीको उदेश्य थप गर्नेबारेमा निर्णय गरेको भन्ने थाहा पाई मैले गितेन्द्रबाबु राईलाई भेटी तपाईहरूले मेरो हस्ताक्षर समेत किर्ते गर्नु भएको रहेछ, मलाई तपाईसँग बस्नु छैन, मैले राजिनामा नै बुझाएर तपाईलाई शेयर समेत फिर्ता गरेको कबुल कागज गरेर छाडीसक्दा पनि किन मेरो शेयर यथावत राख्नु भएको हो, मलाई यसबाट तुरुन्त अलग गराउनुस् भन्दा निजले तपाईको केही हस्ताक्षरहरू छुटेका छन् त्यसैले तपाईको शेयर कायम नै भएको हो।
हामीले कम्पनीको पूँजी बृद्धी गर्ने लगातयको काम गर्न बाँकी रहेको र संचालक तपाई समेत रहेको कारण सो काम गर्न तपाईको आवश्यकता भएकोले सहयोग गर्नुस्, कम्पनीको पूँजी वृद्धी गरी बाँडफाँड भएपछि तपाईको नाउँको शेयर मलाई नै फिर्ता गर्नुहोला, त्यसपछि तपाईलाई हामी कम्पनीबाट अलग गराउँछौंभनेको कारण मैले निजको कुरामा विश्वास गरी सो कार्यमा सहयोग गरेको हूँ, सो पश्चात २०७७ साल चैत्र महिनामा गितेन्द्रबाबु राई, म र रवि लामिछानेको नाउँमा शेयर कायम भएकोमा मैले मिति २०७८।०६।२३ गते मेरो नाउँमा रहेको सम्पूर्ण शेयर गितेन्द्रबाबु राई (Face of the Company) लाई हस्तान्तरण गरी कम्पनीको विनियम अनुसारको प्रकृया पुरा गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित भई सम्पूर्ण दायित्व र जिम्मेवारी समेतबाट अलग भएको हुँ।
म उक्त गोर्खा मिडिया नेटवर्क प्रा.लि. स्थापना कालदेखि मिति २०७८।०६।२३ गतेसम्म कानूनी रुपमा रहेतापनि स्थापनादेखि मिति २०७७।०७।०३ गतेसम्म मात्र उक्त कम्पनीमा थिए। सो पश्चात अमेरिका गई फर्केपछि कम्पनीमा उपस्थित समेत जनाएको अवस्था थिएन। कम्पनी छाड्ने विषयमा पटक-पटक कुरा गरी प्रकृयागत रुपमा छाड्ने क्रममा केही समय ढिलाई मात्र हुन पुगेको थियो त्यसैले कम्पनीमा लगानी के-कसरी, कहाँबाट जुटाईयो वा खर्च कसरी गरिएको थियो मलाई पूर्णरुपमा जानकारी छैन। म यस कम्पनीमा छोटो समय मात्र साझेदार रहेको हुँदा सहकारीको बचत रकम अपचलन गरी कम्पनीमा लगानी गरिएको, यसरी अपचलनबाट प्राप्त रकम कम्पनीले धारणा / प्रयोग गरेको भन्ने विषयमा वा सहकारीको रकम अपचलन गर्नको लागि संलग्नता जनाउने भन्ने जस्ता कुनै पनि कार्यमा संलग्न, मिलेमतो तथा उपस्थिति समेत नभएको हुँदा मलाई प्रस्तुत कुनै पनि कसूरमा कारवाही हुनु हुँदैन।
हिरासतमा रहेका रवि लामिछानेले के भनेका छन् थाहा छैन तर उनिलाई स्पष्ट रुपमा थाहा छ की मैले २/३ महिना मात्र गोर्खा मिडियामा रही गोर्खा मिडिया नेटवर्क छाडी उक्त टि.भि. (Galaxy 4K Television) मा नगई कुनै रकम तथा वोनस, आर्थिक लाभ नलिई गितेन्द्रबाबु राई र रवि लामिछानेलाई पूर्णरुपमा आधिकारिक तवरबाट छाडी कम्पनी रजिष्ट्रारको कार्यालयबाट सम्पूर्ण दायित्व र जिम्मेवारबाट अलग भएको हुँ सहकारीको रकम अपचलनको विषयमा रवि लामिछाने र गितेन्द्रबावु राईलाई नै थाहा होला।