काठमाडौं — नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले संसद् जस्तो लोकतान्त्रिक थलोमा कुनै पनि बहानामा अवरोध गर्न नहुने बताएका छन्। उनले उत्पन्न कुनै पनि समस्या सहमतिमार्फत समाधान गर्न सकिने स्पष्ट पारे।
अठारौँ गणतन्त्र दिवसको अवसरमा आयोजित ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले भने, “जनताको आवाज मुखरित हुने संसद् थलोमा कसैले पनि बन्धन सिर्जना गर्नु हुँदैन।”
पूर्वमन्त्री समेत रहेका गुरुङले हाल संसद्मा देखिएको गत्यारोेधप्रति संकेत गर्दै त्यसको समाधान पनि वार्ता र सहमतिबाट सम्भव हुने बताए। उनले संसदीय प्रक्रियालाई गतिशील बनाउन सबै दलहरू जिम्मेवार र लचकदार बन्नुपर्ने आवश्यकता पनि औंल्याए।