इरानी मिसाइल आक्रमणमा इजरायलमा १६ घाइते, एकको अवस्था मध्यम
  • CIA Khabar

  • जेरुसेलम — अमेरिकाले इरानका आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेलगत्तै इरानले इजरायलमाथि दुईवटा मिसाइल प्रहार गरेको छ। त्यसपछिको आक्रमणमा इजरायलको मध्य क्षेत्रमा कम्तीमा १६ जना घाइते भएका छन्।

    इजरायली उद्धार संस्था म्यागेन डेभिड एडोम (MDA) ले दिएको जानकारीअनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये एक ३० वर्षीय युवक मिसाइलको छर्रा लागेर शरीरको माथिल्लो भागमा घाइते भएका र उनको अवस्था मध्यम रहेको उल्लेख गरिएको छ।

    बिहान ७:३० बजे (०४:३० GMT) मिसाइलका दुई लहरले इजरायलको मध्य भागमा आक्रमण गरेपछि राष्ट्रिय प्रसारण संस्था क्यान ११ ले भग्नावशेषले ढाकिएको भवनको तस्बिर सार्वजनिक गरेको छ।

    आक्रमण सुरु हुनु अघिनै इजरायली सेनाले मिसाइल खस्ने चेतावनी जारी गरेपछि देशभरि साइरन बजाइएको थियो। त्यसपछिको केही समयमै वायु सुरक्षा प्रणाली सक्रिय भएपछि तेल अभिव र जेरुसेलममा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ।

    हाइफामा हतियारका टुक्रा खसेको रिपोर्ट

    इजरायली प्रहरीले उत्तर इजरायलको हाइफा बन्दरगाह क्षेत्रमा हतियारका टुक्राहरू खसेको जानकारी दिएको छ। त्यहाँ स्थानीय अधिकारीहरूले आपत्कालीन सेवाहरू घटनास्थलतर्फ पठाएको बताएका छन्।

    युद्धसम्बन्धी रिपोर्टहरू इजरायलमा कडा सैन्य सेन्सरसिपको अधीनमा रहेकाले विस्तृत विवरण सन्देहको विषय रहन्छ। तर आधिकारिक तथ्याङ्कअनुसार, जुन १३ मा इरान–इजरायल युद्ध सुरु भएयता इजरायलमा कम्तीमा ५० वटा मिसाइल आक्रमणहरू भइसकेका छन्, जसमा २५ जनाको मृत्यु भइसकेको छ।

    इरानले लगातार लक्ष्य बनाउँदै आएको इजरायलका तीन मुख्य क्षेत्रहरूमा तेल अभिव, दक्षिणको बेयरसेबा र उत्तरको हाइफा रहेका छन्।

    वायु रक्षा प्रणालीद्वारा सयौं आक्रमण निष्फल

    इजरायली सेनाले जारी गरेको पछिल्लो विवरणअनुसार इजरायलको वायु सुरक्षा प्रणालीले हालसम्म करिब एक हजार ड्रोन र चार सय पचासभन्दा बढी मिसाइल सफलतापूर्वक निस्क्रिय पारिसकेको छ।

  • ८ असार २०८२, आईतवार १५:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images