काठमाडौं । निर्देशक दीपेन्द्र प्रकाश केसीको निर्देशनमा तयार तीज विशेष गीत ‘करिमै’ को म्यूजिक भिडियो राजधानीमा भव्य समारोहबीच सार्वजनिक गरिएको छ।
टिका पुनको जादुमय आवाज र मोडेल स्वस्तिका गिरिको जीवन्त अभिनय रहेको भिडियो नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन कुमार थापाको हातबाट विमोचन भयो।
दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका केसीको यो प्रोजेक्टमार्फत स्वस्तिकाले आफ्नो डेब्यु गरेकी हुन्।
विमोचन कार्यक्रममा गगन थापाले ‘करिमै’ लाई छोरीचेलीको वेदना बोलेको गीतका रूपमा वर्णन गर्दै ओजपूर्ण शब्द र स्वस्तिकाको जीवन्त अभिनयको खुलेर प्रशंसा गरे।
उनले भने, “गीतमा जति ओजनदार शब्द छन्, मोडल स्वस्तिकाले त्यति नै न्याय दिएकी छिन्। सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।”
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले यो भिडियोलाई दीपेन्द्रको पुराना कामभन्दा फरक र मन छुने प्रस्तुति भने।
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति भुपी ऐरले आफ्नो सहपाठी स्वस्तिकाको अभिनयले सबैको मन जितेको प्रतिक्रिया दिइन्।
उनले भनिन्, “स्वस्तिका हाम्रो सहपाठी हुन्, उनी यति जीवन्त अभिनय गर्न सक्छिन् भन्ने हामीले सोचेका थिएनौँ। आज उनले हामी सबैलाई गर्वको अनुभूति गराइन्।”
प्रेस युनियन सचिव लालकुमार मोक्तानले दिपेन्द्रले ल्याउनले हरेक म्यूजिक भिडियोहरु राम्रा हुन्छन् करिमै सोचेभन्दा पनि राम्रो रहेको बताए ।
राजधानी वरपरका मनोरम दृश्यमा छायांकन गरिएको ‘करिमै’मा माइती घरमा बिताएका भावनात्मक क्षण र विवाहपछिको मार्मिक वेदना समेटिएको छ।
सयौं म्यूजिक भिडियोमा काम गरिसकेका ओम प्रसाईंको छायांकन र सम्पादनले भिडियोमा थप आकर्षण भरेको निर्माण टिमको दाबी छ।
सहनिर्देशन सञ्जिला सुमित्राले गरेकी हुन्। सन्त कुमार केसीको शब्द, माधव बि एमको संगीत र रोमहर्ष भण्डारको संगीत संयोजन रहेको भिडियोमा कलाकारहरू देवी भण्डारी, जुली कोइराला, पदमराज अवस्थी, राजेन्द्र थापा, कुलबहादुर ओली, चेतना प्रसाईं, गिताञ्जली योगी लगायतको अभिनय समावेश छ।