१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम
  • CIA Khabar

  • Kokichi Akuzawa, recently recognized by Guinness World Records as the oldest person to climb Mount Fuji (male), speaks during an interview with The Associated Press in Maebashi, northeast of Tokyo, Wednesday, Sept. 3, 2025. (AP Photo/Hiro Komae)

    टोकियो- एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन् । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।

    “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भने, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”

    अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर (१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।

    पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्‍याउँदै सहयोग पुर्‍याइन् । अकुजावालाई सुन्न कठिन छ । “उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन”, अकुजावाले भने, “जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।”

    यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उनी ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । त्यसपछि उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए ।

    फुजी आरोहणअघि उनले तीन महिनासम्म विशेष तालिम लिए । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्थे र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्दथे ।

    अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उनले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिए । शिखरमा पुग्ने जादु निर्विवाद भए पनि उनलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।

    “म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ”, उनले भने, “पर्वतमा साथी बनाउन सजिलो हुन्छ ।”

    अकुजावा सक्षम विद्यार्थी थिए । उनले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गरे र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहे ।

    “पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो”, उनले भने, “बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन । हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ ।”

    पहिले उनी एक्लै आरोहण गर्न रुचाउँथे, तर उमेर बढेसँगै अरूको सहयोगमा बढी निर्भर हुन थाले । हालैको कीर्तिमानी आरोहण पनि त्यही सहयोगकै कारण सम्भव भयो ।

    “माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो”, उनले भने, “मलाई पीडा थिएन, तर किन ढिलो हुँदैछु, किन सहनशक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ ।”

    फेरि माउन्ट फुजी आरोहण गर्ने योजनाबारे प्रश्न गर्दा उनले भने, “म सदाका लागि चढिरहन चाहन्छु, तर अब सम्भव नहोला । अहिले म नजिकैको अकागी पर्वत (एक हजार आठ सय २८ मिटर) को स्तरमै छु ।”

    यी दिनहरूमा अकुजावा बिहानै वरिष्ठ हेरचाह केन्द्रमा स्वयंसेवा गर्नुहुन्छ र आफ्नो स्टुडियोमा चित्रकला सिकाउँछन् । उनका अनुसार पर्वतारोहण र चित्रकलामा समान समर्पण र समय चाहिन्छ, दुवैले शान्ति दिन्छन् ।

    “पर्वत चढ्ने वा चित्र बनाउने जो–कोहीले त्यसबाट केही सम्पूर्ण सिर्जना गर्न सके, त्यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो”, उनले भने ।

    उनका छोरीहरूले बैठक कोठाको पर्खाल भरिएका पर्वतचित्रमा सूर्योदयमा फुजी पर्वतको अर्को चित्र थप्न आग्रह गरेका छन् ।

    “धेरै अनुरोधहरू आइसकेका छन्”, उनले हाँस्दै भने, “म शिखरबाट देखिएका ती दृश्यहरू चित्रित गर्न चाहन्छु, जसले मेरा लागि विशेष सम्झना बोकेका छन् । सम्भवतः यो मेरो अन्तिम शिखरारोहण थियो ।”

  • २० भाद्र २०८२, शुक्रबार १४:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images