काठमाडौँ- जनस्वास्थ्यका लागि घातक मानिने निपाह भाइरस नेपालमा हालसम्म नदेखिए पनि जोखिम भने अत्यधिक रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थाहरूलाई निगरानीमा राखिएको छ । शङ्कास्पद लक्षण देखिएका यात्रुहरूको नमुना परीक्षण गर्न निर्देशन दिइएको छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार निपाह भाइरस फलफूल खाने चमेराबाट सुरु भई सुँगुर, गाईबस्तु हुँदै मानिसमा सर्ने गर्दछ । संक्रमित व्यक्तिको रगत वा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो रोग फैलिन सक्ने उहाँले बताउनु भयो । लक्षणमा ज्वरो, टाउको दुखाइ, रिङ्गटा, श्वासप्रश्वासमा कठिनाइ देखिन्छ । समयमै उपचार नपाए मृत्यु दर ४० देखि ७० प्रतिशतसम्म पुग्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ । हालसम्म शुरुवाती कोरोना भाइरस जस्तै यसविरुद्ध विशेष खोप वा निश्चित उपचार उपलब्ध छैन ।
चिकित्सकहरूले फलफूल राम्ररी पखालेर खाने, मासु पकाउँदा पन्जा र मास्क प्रयोग गर्न, पानी उमालेर पिउने, हात साबुनपानीले धुने र भिडभाडमा मास्क लगाउन सुझाव दिएका छन् । नेपालमा अहिलेसम्म निपाह भाइरस पुष्टि नभए पनि नेपालको सिमा जोडिएको भारतीय राज्यमा सतर्कता अत्यावश्यक मानिएको छ।













