कपिलवस्तु – नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं। ३ मा संगठनले नयाँ उचाइ पाएको छ। भातृ तथा शुभेच्छुक संस्था परिचालन समितिको संयोजकको जिम्मेवारी अमर पौडेललाई सुम्पिँदा क्षेत्रका पार्टी गतिविधि नयाँ गतिमा अघि बढ्न थालेका छन्। पार्टी सभापति गगन कुमार थापाको नेतृत्वमा ललितपुरस्थित बीपी स्मृति भवन, सानेपामा सम्पन्न बैठकले पौडेललाई संयोजक बनाउने निर्णय गरेको हो। नेविसंघ र तरुण दलमा लामो समयदेखि सक्रिय पौडेललाई जिम्मेवारी दिनु पार्टीले जुझारु, समर्पित र संगठन बुझ्ने नेतृत्वलाई अघि सार्ने स्पष्ट संकेत रहेको नेताहरूले बताउँछन्।
अमर पौडेलले क्षेत्र नं। ३ का भातृ तथा शुभेच्छुक संस्थालाई एक कमाण्डमा बाँध्दै जनस्तरमा पार्टी सन्देश पुर्याउने जिम्मेवारी सम्हाल्नेछन्। आगामी राजनीतिक चुनौती सामना गर्न संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र रणनीति निर्माणमा उनको भूमिका निर्णायक रहने विश्वास गरिएको छ।
माघ २२ गते कृष्णनगरमा आयोजना हुने क्षेत्र स्तरीय भेलाले पार्टीलाई तल्लो तहदेखि उपल्लो कमाण्डसम्म थप मजबुत बनाउने अपेक्षा छ। नेपाली काँग्रेसका नेता अभिषेक प्रताप शाहका अनुसार, अमर पौडेलको नेतृत्वले संगठनलाई केवल सक्रिय नभई अनुशासित र परिणाममुखी बनाउनेछ। उहाँले क्षेत्र ३ का सबै तहका कार्यकर्ताहरूलाई जोड्दै जनस्तरमा पार्टी सन्देश पुर्याउने काम गर्नेछन्। अमर पौडेलको नेतृत्वमा कपिलवस्तु क्षेत्र नं। ३ मा काँग्रेस संगठन थप सशक्त, सक्रिय र जनमुखी बन्दै, आगामी राजनीतिक चुनौतीहरू सामना गर्न तयार भएको देखिन्छ।













