काठमाडौ । कोरोनाभाइरस कोभिड-१९ को पहिलो लहरमा बालबालिका कम प्रभावित भएका थिए । तर, दोस्रो लहरमा नयाँ भेरियन्ट देखिएसँगै बालबालिकाको संक्रमण ह्वात्तै बढेको छ । मंगलबार सार्वजनिक गरिएको रिपोर्टमा नयाँ संक्रमितमध्ये ९ वर्ष मुनिका १८३ जना बालबालिका संक्रमित भएका छन् भने ६७६ जना १० देखि १९ वर्षसम्म उमेर समूहका रहेका छन् ।
गत २४ घण्टामा कूल ८५९ जना बालबालिका संक्रमित भएका छन् । संक्रमणको दोस्रो लहरको सुरुवातकाल अर्थात् झण्डै एक महिना अगाडिदेखि नै काठमाडौँ उपत्यकासँगै पोखरा लगायतका स्थानमा बालबालिकामा कोरोनाभाइरसको यूके भेरियन्टको संक्रमण पुष्टि भएको पत्ता लागेको थियो ।
पछिल्लो समय नेपालमा पुष्टि भएका तीनवटा भेरियन्टमध्ये भारतमा पहिलो पटक पत्ता लागेको बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट बी १.६१७.२ सबै उमेर समूहमा तीव्र रुपमा फैलिएको छ ।
जेठ ५ गते बुधबार ९ वर्ष मुनिका बालबालिका १९० र १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमण पुष्टि भएको थियो । बिहीबार ९ वर्षका मुनिका बालबालिका २२७ संक्रमित भएका थिए भने ७ गते शुक्रबार १८८, शनिबार २२०, आइतबार १५६ र सोमबार १७३ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार अघिल्लो दिनभन्दा १० जना बढी संक्रमति अर्थात १८३ बालबालिका संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।