दिगो शान्तिविना समग्र विकास सम्भव छैन : सभापति देउवा
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६५औँ बुद्धजयन्ती तथा उभौली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    आज शुभकामना सन्देशमार्फत मुलुक अझै पनि हत्या, हिंसा, अपहरण, मानवाधिकार विरोधीलगायत घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै दिगो शान्ति  विना समग्र विकास सम्भव नभएको तथा शान्त र समुन्नत नेपाल निर्माणका लागि थुप्रै अवसर रहेको उनले बताएका छन् ।

    सभापति देउवाले देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा रहेको र पहिलोभन्दा दोस्रो  कयौँ गुणा भयावहसिद्ध भएको तथा बढ्दो संक्रमणसँगै आइसीयू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या बढेकामा चिन्ता व्यक्त गरेका छन् ।

    यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी रहेको जनाउँदै उनले कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

    सभापति देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धका उपदेशलाई सबैले मन, वचन र कर्मले पालन गर्न र  अशान्ति, हत्या र हिंसाको विरोध गर्न आग्रह गर्दै देशमा शान्ति कायम होस् तथा अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाऊन् भन्ने कामना पनि गरेका छन् ।

    साथै उनले किराँत समुदायको महान् पर्व उभौलीका अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार १६:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images