पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाभित्र गण्डकी प्रदेशका विभिन्न ल्यावहरुमा गरिएको पीसीआर तथा एण्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७९ जना संक्रमित थपिएका हुन् ।
बुधबार सबै भन्दा बढी कास्की जिल्लामा ३ सय ७० जना संक्रमित थपिएका छन् ।
यस्तै, गोरखामा २१८, तनहुँमा १६६, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ११८, पर्वतमा ६५, स्याङजामा ५०, म्याग्दीमा ३६, बाग्लुङ्मा ११, मुस्ताङ्मा ८ र मनाङमा १ जना संक्रमित थपिएका छन् । योससहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ हजार ९ सय ५४ पुगेको छ ।
मृत्युदर घट्यो :
कोरोना संक्रमणबाट मृत्यु हुनेको दर भने बुधबार ह्वात्तै घटेको छ । बुधबार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बुधबार कास्कीमा ४, स्याङजा २ र लमजुङ १ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । कास्कीको पोखरा महानगरपालिका भित्रका ३ जना पुरुष र माछापुछ्रे गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी, स्याङजाको वालिङ– ९का ४८ वर्षीय पुरुष, वालिङ–८ का ६० वर्षीय पुरुष र लमजुङको मध्येनेपाल नगरपालिका–४ की ८५ वर्षीय महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।
गण्डकीमा मंगलबारको अध्यावधिक विवरणमा १९ जना संक्रमितको मृत्यु भएको उल्लेख थियो । बुधबार मृत्यु पुष्टि भएकासहित गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७७ पुगेको छ ।