पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको तनहुँ भानुकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
अक्सिजनको अभावकै कारण उनको मृत्यु भएको उनको परिवारले बताएका छन । ‘अस्पतालले अक्सिजन आउँदै छ भन्यो, उद्योगले सबैलाई दिएका छौं भनेर दिएनछ,’ सुत्केरीका श्रीमानले भक्कानिँदै भने, ‘आउँछ आउँछ भनेको अक्सिजन बिरामीको ज्यान गएको १ घन्टा भइसक्दा पनि आइपुगेको थिएन । बेलैमा अक्सिजन पाए उनी बाँच्थिन् होला ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको हो ।
तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो ।