बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मी र चिकित्सकमाथि कुटपिट गरेका हुन् । मृतकका आफन्तले लखेटेपछि ज्यान जोगाउन तीन जना नर्सले अस्पतालको दुई तलमाथिबाट हाम फालेका छन् ।
‘दाङका एक संक्रमितको मृत्यु भएपछि आफन्तले आक्रमण गर्नुभयो । स्थिति तनावग्रस्त छ । प्रहरीले सुरक्षा दिएको छ । भित्र जाने स्थिति छैन’, अस्पतालका डा. प्रकाश थापाले भने, ‘मृतक्का आफन्तले डाक्टर र नर्सको घाँटी थिचेका छन् । तीन/चार जना नर्सले हाम फालेर ज्यान जोगाए । स्वास्थ्यकर्मीले नै सास फेर्न सकेका छैनन् । सबै तोडफोड भएको छ । भित्र अरु बिरामीको उपचार गर्ने स्थिति छैन । बाहिर सबैको रुवाबासी छ ।
मृतकका आफन्तले भेन्टिलेटरसमेत तोडफोड गरेको उनले बताए । ‘ज्यानको बाजी राखेर महामारीमा काम गरिरहेका छौँ । आफ्नो सुरक्षा छैन भने कसरी काम गर्ने ? उनले गुनासो गरे । बिरामी कुरुवाको आक्रमणमा परी चार जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको अस्पतालले जनाएको छ ।
४ जेठदेखि भेरी अस्पतालमा उपचाररत दाङका डिल्लीबहादुर रावतको उपचारका क्रममा राति ८ बजेतिर मृत्यु भएपछि उनका आफन्त कुरुवासमेत रहेका मानबहादुर रावतसहितको समूहले स्वास्थ्यकर्मीमाथि हातपात गरेको, चिकित्सकलाई आक्रमण गरेको र आईसीयू कक्ष तोडफोड गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
घटनालगत्तै प्रहरीले मानबहदुरसहित तीन जनालाई पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको उनको भनाइ छ ।