काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानविन गरि कारवाही गरिने बताउनुभएको छ ।
आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविन गरी दोषीमाथि कारवाही हुनेछ ।’
घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई कोरोना देखिएको थियो । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।
उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।